गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई

गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै म्याग्दीले उपाधि जितेको हो । उपाधिसँगै म्याग्दीले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

फाइनल खेलमा पहिलो सेट २५-१५ ले जितेको म्याग्दीले दोश्रो सेट २५-२३ र तेश्रो सेट २५-१७ ले गुमाउँदा पर्वत खेलमा हाबी बन्न पुगेको थियो । तर चौथो सेट २५-१५ ले र अन्तिम तथा पाँचौ सेट १५-१० ले जित्दै म्याग्दीले शानदार कमब्याकका साथ उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा बागलुङ जिल्ला तेस्रो भएको छ । बागलुङले स्याङजालाई ३-१ सेटले पराजित गर्दै तेश्रो स्थान हासिल गर्न सफल भयो । स्याङजासँगको खेलमा बागलुङले पहिलो सेट २५-१९ ले गुमाए पनि अन्तिम तीन सेट लगातार जित्दै नगद ४० हजारको पुरस्कार राशीको हकदार बनाउन सफल भयो । बागलुङले २५-१२, २५-२३ र २५-१५ ले खेल जितेको थियो ।

प्रतियोगितामा पर्वतकी पुजा सेन ठकुरी उत्कृष्ट खेलाडी घोषित भइन् भने उत्कृष्ट स्पाइकरको उपाधि म्याग्दीकी पवित्रा सिर्पाली र उत्कृष्ट सेटरको उपाधि म्याग्दीकी रेवीना घर्ती मगरले जित्न सफल भए । सबै खेलाडीहरुले नगद रु ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, भौतिक पूर्वाधार तथा यातयात ब्यबस्था मन्त्री रेशम बहादुर जुग्जाली, गण्डकी प्रदेश सांसद प्रकाश बराल, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको ब्यबस्थापनमा तिन दिन जारी प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको थियो ।समापन कार्यक्रममा बोल्दै सामाजिक विकास तथा स्थास्थ्य मन्त्री सिंखडाले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै प्रतियोगिताले गण्डकी प्रदेशको महिला भलिबल खेल विकासमा सहयोग पुग्ने बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button