
निजी गाडीबाट झरेर आफ्नै हिसाबले हिँडिरहेका एक साइकलयात्रुलाई मुक्का हान्ने एक युवक पक्राउ परेका छन् ।
असार २० गते रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर विराटनगर–६ बस्ने पवन शाहलाई मुक्का हान्ने विराटनगर–४ ढाटका १९ वर्षीय आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको हो । मुक्का प्रहारबाट बेहोश भएर ढलेका शाहलाई भेटवालले घिसारेर सडक छेउमा ल्याएका थिए ।
शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल लगिएको थियो । प्रहरीले भेटवाललाई उनको घरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल फुटेजमा भेटवालसहित तीन गाडीबाट निस्कदै गरेको देख्न सकिन्छ । गाडीबाट निस्केका भेटवालले साइकलमा गइरहेका शाहलाई साइकलमै मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट ढलेका शाहलाई भेटवालले र शाहको साइकललाई अर्का युवकले उठाएर ल्याएका थिए ।