पोखरा महानगरको सार्वजनिक सुनुवाई सम्पन्न

पोखरा महानगरको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ । महानगरको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार आयोजना गरिएको थियो ।

स्थानीय सरकार र नागरिकहरूका बीचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित जबाफदेहिता तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले समग्र महानगरको विकास निर्माण कार्य र सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने कार्यलाई व्यवस्थित गर्न सेवाग्राही समक्ष जनाइएका प्रतिबद्धता लगायतका विषयहरूमा सार्वजनिक सुनुवाइको क्रममा प्रकाश पारे । सो क्रममा कार्यालयबाट सेवाग्राहीहरूलाई उपलब्ध गराइएका वा गराइने सेवा सुविधाहरूको बारेमा समेत जानकारी गराइएको छ ।

गत आर्थिक वर्षमा कार्यालयसँग सम्बन्धित समस्या, जनगुनासो तथा उजुरीहरूको सुनुवाइ, वर्षभरि सञ्चालन गरिएका योजना, परियोजना, कार्यक्रम, बजेट आदिका बारेमा सम्बन्धित सरोकारवाला तथा नागरिकहरूलाई विस्तृत जानकारी दिइएको छ । सेवाग्राहीहरूका तर्फबाट उठाइएका सेवा लिने क्रममा भोगेका कठिनाइ तथा अप्ठ्याराहरूका बारेमा समेत नगर प्रमुख आचार्यले सुनुवाइ गरेका हुन् ।

सार्वजनिक सुनुवाइ क्रममा नागरिकहरूले महानगरको दैनिक सेवा प्रवाह, विकास निर्माणका कार्यक्रमहरूको प्रगति, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ताल खोलानालाहरूको मापदण्ड कार्यान्वयन, सार्वजनिक सम्पत्तिको संरक्षण सहित समुन्नत महानगर निर्माणका आधारहरूका विषयमा जिज्ञासा राखेका थिए ।

महानगरद्वारा सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक सहित ती विषयका सम्बन्धमा सार्वजनिक रूपमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याइ नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

सेवाग्राहीहरूका प्रश्नका जवाफ महानगरका प्रमुख आचार्य सहित उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतले दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button