
पोखरा । पोखरामा सोमबारबाट मावि स्तरीय प्याब्सन स्पोर्टस मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीद्वारा आयोजित स्पोर्टस मिट तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरे । सो अवसरमा निर्देशक आचार्यले प्रतियोगिताले भाइचाराको सम्बन्धलाई बलियो बनाउनेसंगै समाजलाईसमेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासका लागि खेलकुद सिकाईको अभिन्न पाटो रहेको उल्लेख गर्दै खेलकुदले मानवजीवनका लागि आवश्यकताका रुपमा रहेको अनुशासनलाईसमेत स्थापित गर्न भूमिका खेल्ने बताए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए ।
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले विद्यार्थीहरुको सिकाईमा सकारात्मक प्रभाव पार्ने औंल्याउँदै राष्ट्रको गौरव बढाउन खेलकुद अपरिहार्य रहेको उल्लेख गरे ।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले बाेलेका थिए ।
सो अवसरमा प्याब्सन कास्कीले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थी तथा विद्यालयहलाई ट्रफी तथा प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
यसै विच पहिलो दिन भएको छात्र भलिबलमा सोसियल पव्लिकले वेष्ट पोइन्टलाई २५-१८, २५-१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५-११, २५-१४ ले, केफले प्रतिभालाई २६-२४, २८-२६ ले, टप्सले पोखरा लनर्सलाई २५-४, २५-९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५-१२, २५-१८ ले, रेन्वोले एक्स आर्मीलाई २५-११, २५-१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५-२५, २५-२१ र २५-१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५-१२ र २५-१५ ले जित्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए ।
त्यस्तै छात्रा भलिबलतर्फ टप्सले विभुतीलाई २५-४, २५-६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५-२२, २५-१४ ले, नेशनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५-२१, २५-१४ ले, केफले पोखरा युनाइटेडलाई २५-१६, २५-१२ ले र प्रतिभाले सवलाइमलाई २५-१५, २५-१३ को सोझो सेटमा पराजित गरे ।
त्यसै गरि सोमबार पहिलो चरणका छात्र-छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेको संयोजक विष्णु तिमिल्सिनाले जानकारी दिए ।बास्केटबल छात्रतर्फ सोमबार ८ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जनाए ।
गौतमका अनुसार बास्केटबल उद्घाटन खेलमा प्रतिभा माविले पोखरा लनर्सलाई ३१-१४ ले पराजित गरेका छ भने अन्य खेलमा स्पाइरल ग्यालेक्सी, मेरीगोल्ड, केफ, स्टेप वाई स्टेप, कुमुदिनी, मनकामना र बालोदयले पहिलो चरणका खेलहरु जितेका छन् ।
स्पोर्टस मिटअन्तर्गत भलिबल, बास्केटबल र टेबुलटेनिस हुने प्रचार-प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, टेबुलटेनिस छात्र सिंगल्समा २६ र छात्रातर्फ २४, टेबुलटेनिस छात्र-छात्रा डबल्समा १४-१४ टिमको सहभागिता छ ।





