सहकारीलाई व्यवस्थित बनाउन अनुगमन र नियमन प्रभावकारी बनाइन्छ : अध्यक्ष तिवारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ उपकार मार्गस्थित सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा बुधबार भएको छ ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीमा सेयर सदस्यबीच सहकार्य जरुरी रहेको बताए । सहकारी भनेकै सहकार्य भएको भन्दै उनले सेयर सदस्यबीच सहमति र सहकार्य भयो भने संस्था राम्रो हुने स्पष्ट पारे ।

पछिल्ला समय केही सहकारीका कारण धेरैलाई गाह्रो भएको भन्दै उनले सहकारीले ७ सिद्धान्तसँगै मूल्य र मान्यतामा रही काम गरे सदस्यहरुको विश्वास जित्न सक्ने बताए ।

महानगरको सहकारी समितिले पोखराभित्र रहेका सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी काम गर्ने उनले बताए ।

कास्कीमा ७ सय सहकारी रहेकोमा ३ सय ६८ पोखरा महानगरपालिकाभित्र रहेको उनले जानकारी दिए । सहकारीहरुको उजुरी, गुनासा सुनुवाई गर्दै समाधानको पाटोमा आफूहरु लागिरहेको भन्दै अध्यक्ष तिवारीले सहकारीलाई व्यवस्थित बनाउन महानगरले अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने गरी अघि बढाएको सुनाए ।

उनले बचत गर्दा चिनेजानेको सहकारीमा मात्र कारोबार गर्न र सहकारीहरुलाई सदस्य नभएका व्यक्तिसँग कारोबार नगर्न सुझाव दिएका छन् ।

सहकारीले साधारण सभामा विभिन्न क्षेत्रमा योगदान दिने सेयर सदस्यलाई सम्मान गरेको थियो ।

यसरी सम्मानित हुनेमा ज्येष्ठ नागरिक सम्मानबाट खिमकुमारी गुरुङ, नारायणबहादुर पण्डित र डिलकाशी गुरुङ छन् ।

यस्तै सर्वोत्कृष्ट बचतकर्ताबाट भमरकोट पार्टी प्यालेस, उत्कृष्ट बचतकर्ताबाट खुरेन्द्रमान माकाजु, उत्कृष्ट दैनिक बचततर्फ राजेन्द्रकुमार ताम्राकार, उत्कृष्ट निक्षेप प्रवाहबाट मीनबहादुर बर्देवा, सर्वोत्कृष्ट निक्षेप प्रवाहबाट माया गुरुङ र उत्कृष्ट सञ्चालक सम्मानबाट जगदीश गौतमलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट कर्मचारीलाई पनि नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा प्रधान कार्यालय अमरसिंहकी मनिषा गुरुङ, महेन्द्रपुल सेवा केन्द्रकी रस्मिता भुजेल र तालचोक सेवा केन्द्रकी हीरा केसी छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर गुरुङले सहकारीले पोखराको ३ स्थानबाट सेवा दिइरहेको बताउँदै आगामी दिनमा एक सहकारी एक उत्पादन कार्यक्रमसँग अन्य कार्यक्रमलाई निरन्तरता दिँदै जाने योजना सुनाए ।

पोखरा-१२ उपकार मार्गमा प्रधान कार्यालय रहेको सहकारीको महेन्द्रपुल र तालचोकमा सेवा केन्द्र छ ।

संस्थाका सचिव सरिता तिम्सिना पंगेनीले प्रत्येक ४/४ महिनामा प्रगति विवरण सार्वजनिक गर्ने गरिएकाले संस्थाप्रति सेयर सदस्यको विश्वास बढ्दै गएको बताइन् ।

उपाध्यक्ष जगदीश गौतमले संस्थामा ७ सयभन्दा बढी सेयर सदस्य र १२ सयभन्दा बढी कारोबारी सदस्य रहेकाले उनीहरूको विश्वास जित्दै अघि बढ्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button