
पोखरा । पोखराको दिगो पर्यटन विकासका लागि एसियाली विकास बैंक (एडिबी) ले पोखरा महानगरपालिकालाई सात अर्व ५० करोड रुपैयाँ सहायता उपलव्ध गराउने भएको छ । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन उक्त वित्तीय ‘प्याकेज’ उपलव्ध गराउने भएको हो ।
विशेषगरि दिगो पर्यटन विकास गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नका लागि उक्त सहायता उपलव्ध गराउने भएको बताइएको छ ।
एडिबीको प्रधान कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी यहाँको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने पोखरा महानगरपालिकाको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको बताइएको छ ।
एडिबीको उक्त वित्तीय प्याकेजमार्फत सहरी विकास तथा भवन निर्माण विभाग र पोखरा महानरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् ।
एडिबीले आज स्वीकृत गरेका प्याकेज रु. १६ अर्व ६० करोडको रहेको छ । जसमध्ये जनकपुर उपमहानगरपालिका, देवदह, लुम्बिनी सांस्कृतिक, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले पनि उक्त सहायता पाउनेछन् ।
लामो प्रयत्नपछि सहायता पाउन सफल भयौँ : मेयर आचार्य
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एसियाली विकास बैंकसँग निकै लामो प्रयत्न गरेर सहायता प्राप्त भएको बताएका छन् । सहायताका लागि प्रमुख आचार्य स्वयं एडिबीको प्रधान कार्यालय रहेको फिलिपिन्सको मनिला पुगेर प्रयत्न गरेका थिए ।
पोखरा महानगरमा एडिबी युनिटका लागि फोकल पर्सनसहित १० जना कर्मचारी रहनेगरि छुट्टै कार्यालय स्थापनाको काम अघि बढेको छ । पोखराका लागि ३२ वटा परियोजना प्रस्ताव गरिएकामा ७ वटा परियोजनाका काम अघि बढेको प्रमुख आचार्यले बताए ।
प्रमुख आचार्यका अनुसार परियोजना भित्र पोखराको नयाँ विमानस्थलदेखि लेकसाइडसम्म जाने फष्टट्र्याक, शान्तिवन बाटिकामा बोटानिकल गार्डेन निर्माण, पञ्चासे क्षेत्रको विकास, केआइसिंह पुल क्षेत्रको विकास, लेखनाथमा प्रवेशद्वार निर्माण, पोखराको ऐतिहासिक पुरानो बजार रामकृष्णटोल र गणेशटोलको विकास लगायत समेटिएका छन् ।
पोखराका लागि प्राप्त सहायता हालसम्मकै ठूलो हो । एडिबीले यसअघि ल्याण्डफिल्ड साइट निर्माण र ढल निर्माणमा सहायता गरेको थियो । यसले पोखराको दियो पर्यटन विकासका लागि महत्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यको विश्वास छ ।





