आज ‘क्रिसमस डे’ पर्व मनाइँदै

पोखरा । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गण्डकी प्रदेश प्रमुखलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा पोखरा, काठमाडौँ, ललितपुर, भक्तपुरलगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

यसैबीच गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुुरुङले हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले धार्मिक उत्सव एवम् चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्नाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउने बताएका छन् ।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्वभरका इसाई धर्मका अनुयायीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने उहाँको सन्देशमा उल्लेख छ ।

यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने प्रदेश प्रमुख गुरुङले कामना गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button