
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले वडाको विकासका लागि वडावासी पनि विकासप्रेमी हुनुपर्ने बताएका छन् ।
स्वागत टोल विकास संस्थाको दोश्रो साधारणसभा उद्घाटन गर्दै वडाध्यक्ष बरालले वडावासीको सहयोग बिना विकास सम्भव नहुने भन्दै यसमा सबैको भावना विकासप्रेमी हुनुपर्ने बताए ।
उनले भने, ‘विकासका लागि वडाले बजेट ल्याउँछ, तयारी गर्छ तर स्थानीयवासीले एक इन्च, एक वित्ता जग्गामा बखेडा झिकिदिँदा बजेर रकमान्तर भएका कैयौँ घटना छन् ।’
उनले एक बित्तामा लोभ नगरि विकासमा सघाउन आग्रह गरे । उनले भने, ‘समृद्ध वडा निर्माणमा सबैले हातेमालो गर्न आवश्यक छ ।’
वडाध्यक्ष बरालले मूलको पानी उपभोग गर्नका लागि पोखरा महानगरपालिकाले कार्यविधि बनाउन लागेको सो अवसरमा जानकारी दिए ।
नजिकैको मूलको पानी छिमेकले प्रयोग गरिरहँदा अर्को छिमेकीले टुलुटुलु हेरर बस्नुपर्ने बाध्यता अब छिट्टै अन्त्य हुने उनले विश्वास व्यक्त गरे । वडाभित्र टोलको विकास समावेशी ढंगले गरिने उनले स्पष्ट पारे ।

वडा सदस्य एवं महानगरका कार्यपालिका सदस्य हरिमाया विकले पोखरा-५ अन्य वडाको तुलनामा निकै समृद्ध वडा भएको दावी गरिन् । विकास एकैपटक नहुने भन्दै विस्तारै प्रक्रियागत र समावेशी तवरले हुँदै जाने उनले बताइन् ।
वडा सदस्य गोविन्द प्रसाद पराजुलीले वडाको विकासका साथै नागरिकको सेवामा वडा कार्यालय सदैव तयार रहेको बताए ।
अर्का वडा सदस्य मणिराम बरालले वडाको विकास गर्दै समग्र पोखरालाई समृद्ध बनाउनुपर्ने र यसमा नागरिकको सहयोग आवश्यक पर्ने बताए ।
पूर्व जनप्रतिनिधि तथा मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालले विकास निर्माणमा सबैको सहकार्य हुनुपर्ने खाँचो औंल्याए । फोहोर, ढल लगायत व्यवस्थापनका लागि नागरिकले नै ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष नारायण ढकालले स्वागत टोलमा छोटो समयमै विकास भएको र केही विकासका काम अझै बाँकी रहेको बताए । उनले बाँकी विकासका काममा वडा कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गैरीगाउँ टोल विकास संस्थाका अध्यक्ष लेखराज पोखरेल, संस्थाका सल्लाहकार लक्ष्मण तिमिल्सिना, सचिव सागर पौडेल, कोषाध्यक्ष अनिल सुवेदी, सदस्य गिरीधारी तिमिल्सिना लगायतले बोलेका थिए ।





