तनहुँको म्याग्दे खोलामाथि मोटरेवल पुल निर्माण

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नं. ४ र ७ जोड्ने म्याग्दे खोलामा मोटरेवल पुल निर्माण भएको छ ।

पुल बनेपछि ५ हजार ९ सय ६६ परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

दुई वडा जोड्ने मोटरेवल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त स्थानमा पुल नहुँदा स्थानीयवासीले कठिनाइ भोग्नुपरेको थियो । पुल बनेको खुसियालीमा स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका छन् ।

विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले निर्माणको ठेक्का पाएको थियो ।

भ्याटबाहेक रु १ करोड ४१ लाख ५८ हजार ९ सय ९० रहेकोमा निर्माण सम्पन्न पछि रु १ करोड ३२ लाख ३२ हजार ९ सय १४ भुक्तानी गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

१२ मिटर लम्बाइको मोटरेवल पुल निर्माणपश्चात् सवारी आवतजावतमा सहज भएको थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले बताए ।

पुल बनेपछि वर्षायाममा पनि थर्पु बजारदेखि मनपाङसम्मको क्षेत्रमा निर्वाधरुपमा सवारीसाधान गुड्ने भएपछि ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज बजारसम्म लैजान सहज हुने उनको विश्वास छ ।

सम्झौताअनुरुप निर्माण कार्यसम्पन्न गर्न वर्षाका कारण कठिनाइ भएपछि असोज १ गतेसम्म एक महिना म्याद थपेर निर्माण कार्य सम्पन्न गरिएको हो ।

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका टेक्निकल अफिसर सागर खाम्चाले जानकारी दिए ।

जिल्लाभित्र निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका योजना सम्झौताअनुरुप सम्पन्न गराउन ताकेता दिँदै आएकाले पुल निर्माण कार्य समयमै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button