राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट पत्रकारद्वय राजबहादुर र शिरोमणिको नाम सिफारिस

  • पोखरा न्यूज
  • २०८० पौष १३
राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट पत्रकारद्वय राजबहादुर र शिरोमणिको नाम सिफारिस

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको उम्मेद्वारका लागि कास्कीका दुई जना पत्रकारको नाम सिफारिस भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजबहादुर गुरुङ र नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणि बरालको नाम केन्द्रीय समितिमा सिफारिस भएको हो ।

पार्टीको केन्द्रीय निर्देशन बमोजिम गण्डकी प्रदेश कार्यसमितिले कास्कीका दुई जना पत्रकारसहित १ सय ६८ जनाको सिफारिस गरेको पार्टीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए ।

उम्मेद्वारका लागि नाम सिफारिस भएका राजबहादुर गुरुङ युनाइटेड दैनिकका प्रधान सम्पादक हुन् । साथै उनी कांग्रेस गण्डकीको प्रदेश प्रचार विभागको सदस्य सचिव हुन् । कांग्रेसको प्रचार विभागको केन्द्रीय सदस्यसमेत रहेका उनी पत्रकार र कांग्रेसका नेता, कार्यकर्ताका बीचमा प्रिय व्यक्तित्व मानिन्छन् ।

नम्र व्यवहार र हक्की स्वभावका गुरुङ आफ्नो विचार र पार्टीको नीति तथा सिद्धान्तलाई स्पष्टसँग राख्ने व्यक्तित्व पनि हुन् । उनी अघिल्लो मंसिरमा सम्पन्न प्रदेशसभा तथा संघीय निर्वाचनमा कास्की क्षेत्र नं. ३ मा निर्वाचन हाँकेका थिए । सो अवसरमा उनले खेलेको भूमिकाको प्रशंसासमेत भएको थियो ।

निर्वाचनमा संघ र प्रदेशको एक सिट कम्युनिष्ट पार्टीले जितेको अवस्थामा एक प्रदेशसभा सांसद कांग्रेसका प्रकाश बराललाई जिताउन गुरुङ सफल भएका थिए । उनको यो भूमिकाको प्रदेशसभा सदस्य बरालले खुलेर प्रशंसा गर्दै आइरहेका छन् ।

सांसद बराल भन्छन्, ‘उहाँ अत्यन्तै सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्छ । जे काम आँट्नुहुन्छ त्यो काम फत्ते नगरेसम्म विश्राम लिनुहुन्न । उहाँले सकारात्मक आलोचनालाई सजिलै स्वीकार गर्न सक्ने नेता हो । नेतामा हुनुपर्ने सबै गुण उहाँमा छ ।’

यस्तै, शिरोमणि बराल लामो समयदेखि प्रेस युनियन कास्कीमार्फत राजनीतिमा उदाएका हुन् । उनले प्रेस युनियनको अध्यक्ष भएर लामो समय काम गरेका थिए भने उनको कार्यकालमा युनियनको सदस्यता विस्तारले व्यापकता पाएको थियो ।

पोखराको आदर्श समाज, सुनौलो एफएम, गोल्डेन न्यूज दैनिकमा रहेर उनले काम गरेका थिए । उनले कास्की कांग्रेस र प्रेस युनियनलाई जोडेर राजनीतिको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै प्रशंसासमेत गर्ने गरिन्छ ।

उनी हक्की स्वभावका व्यक्तित्व हुन् भने आफ्ना कुरा खलेर राख्न सक्ने क्षमता राख्न सक्दछन् । उनले पार्टी भित्रको विकृति विसंगतिका सवालमा पनि आवाज उठाउँदै आइरहेका छन् । उनी हाल पार्टीको गण्डकी प्रदेशको प्रचार विभागका सहसंयोजक हुन् ।

बराललाई नजिकबाट चिन्ने कास्की कांग्रेसका एक नेता भन्छन्, ‘उहाँ निकै आँटिलो व्यक्तित्व हो । पार्टीको गुटका बारेमा खुलेर बिरोध गर्न सक्ने व्यक्तित्व हो । उहाँ प्रेस युनियनको अध्यक्ष भएर काम गर्दा के के गर्नुभो, प्रेस युनियनलाई कहाँबाट कहाँ पुर्याउनुभो, सबैलाई जगजाहेरै छ ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस