
पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि थुनामा गएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई सहकारी ठगी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । रामेछाप घर भएका ३८ वर्षीय दर्लामी केही दिनअघि काठमाडौंमा पक्राउ परेका थिए ।
सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसूरमा सहकारी ठगीमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ ।
जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । यसअघि पक्राउ परेका सहकारी कोषाध्यक्ष कुमार रम्तेल २१ असोजदेखि थुनामा छन् ।
रम्तेल र दर्लामीबाहेक १७ जना प्रतिवादी अझै फरार सूचीमा छन् । सहकारी ठगीका मुख्य आरोपी संस्थापक अध्यक्ष जीबी राईसहित पूर्व अध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्व सञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्न लागेको छ ।
यसबाहेक सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।





