पोखरामा क्रिकेट : स्याङ्जाको शानदार जित

पोखरा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि १ सय ४१ रनको जित दर्ता गरेको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले १ सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज जित निकालेको हो ।

बाग्लुङ भने आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबारको उद्घाटन खेलमा बागलुङ कास्कीसँग १ सय ५३ रनले पराजित भएको थियो ।

बागलुङविरुद्ध टस जितेर व्याटिङ सुरुआत गरेको स्याङ्जाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ४४ रनको विशाल योगफल तयार गरेको थियो ।

जितका लागि ३ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको बागलुङले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेटको क्षतिमा २ सय तीन रनमात्रै बनाउन सक्यो ।

स्याङजाका व्याट्सम्यान अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दीप खत्री क्षेत्रीले ३२ र करन पङ्गेनीले २८ रनको योगदान दिए ।

बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर ३ विकेट हात पार्दा अङ्कित न्यौपानेले २ विकेट लिए ।

बागलुङका लागि अर्जुन रायमाझीले ७० र दीपेश कुँवरले ५४ रनको अर्धशतकिय पारी खेले । स्याङ्जाका बलर तुलसीराम भण्डारीले ३ र अङ्कित न्यौपानेले २ विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’मा रहेका कास्की र स्याङ्जाको समान २-२ अङ्क भएको छ । बागलुङ भने कुनै पनि अङ्क नजोडेर बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हुने कास्की र स्याङ्जाबीचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।

समूह विजेताले फाइनल खेल्नेछ । प्रतियोगिता समूह ‘बी’मा तनहुँ, नवलपुर र पर्वत छन् ।

प्रतियोगिताको फाइनल खेल यही पुस २५ गते सञ्चालन हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button