म्याग्दीमा एक महिलाको हत्या, घाइतेको पोखरामा उपचार हुँदै

  • पोखरा न्यूज
  • २०८० पौष २१
म्याग्दीमा एक महिलाको हत्या, घाइतेको पोखरामा उपचार हुँदै

पोखरा । म्याग्दीको मालिका गाउँपालिका वडा नं. ७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) प्रहार गरेर एकको हत्या भएको छ । सो घटनामा दुई जना घाइते भएका छन् ।

छपनी प्रहार हुँदा मालिका गाउँपालिका वढा नं. ७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् ।

घटनास्थलमा पुगेका डिएसपी कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पतालमा ल्याइएको डिएसपी कुँवरले जानकारी दिए ।

उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा ल्याइएको हो ।

प्रियङ्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए ।

घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस