पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालय स्वर्ण महोत्सव मनाउँदै

  • पोखरा न्यूज
  • २०८० पौष २४
पोखरा-५ स्थित धर्मस्थली आधारभूत विद्यालय स्वर्ण महोत्सव मनाउँदै

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित धर्मस्थली आधारभूत विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु जारी छ भने मूल समारोहका लागि तयारी तीव बनाइएको छ ।

हाल विद्यालयमा विभिन्न अतिरिक्त, शैक्षिक र खेलकुदका कार्यक्रमहरु जारी छ । साथै केही दिन अघि आँखा शिविर, स्वास्थ्य परीक्षण सम्पन्न भएको विद्यालयकी प्रधानाध्यापक बदन कुमारी शर्माले जानकारी दिइन् ।

विद्यालयद्वारा आयोजित सरसफाई, खेलकुदमा फुटवल, भलिवल, रिले, हिसाव दौड हुनुका साथै वक्तृत्वकला, अंग्रेजी हिज्जे, निवन्ध लेखन, गायन, नृत्य, चित्रकला र नाटक प्रदर्शनी लगायतका कार्यक्रम जारी रहेको अतिरिक्त क्रियाकलाप प्रमुख शारदा पौडेल अधिकारीले जानकारी दिइन् । साथै माघ ६ गते शनिबारका दिन रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ ।

यस्तै, विद्यालयमा लायन्स क्लव अफ पोखरा संगमसँग सहकार्य गरेर मानसिक स्वास्थ्य परामर्श कार्यक्रम पनि आयोजना गरिएको छ । यस कार्यक्रममा कक्षा ६, ७ र ८ का विद्यार्थीहरु सहभागी थिए ।

विद्यालयले स्वर्ण महोत्सव विशेष समारोह माघ १३ गते गर्ने भएको छ । यसका लागि तयारी तीव्र बनाइएको छ । स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीको संयोजकत्वमा स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको छ । यो समितिले कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।

वि.सं. २०२१ सालमा पोखराको मालेपाटन चौरमा स्थापित विद्यालयले २०३० सालमा मात्रै औपचारिकता पाइको थियो । विद्यालयमा २०३४ सालमा कक्षा १ देखि ७ सम्म पढाइ सञ्चालन गरेको थियो भने २०५९ सालबाट शिशुदेखि कक्षा ८ सुरु भएको हो । विद्यालयममा २०६० सालमा ६ सय ४ जना विद्यार्थीले अध्ययन गरेका थिए । यो संख्या हालसम्मकै धेरै हो ।

विद्यालयमा हाल ४ सय ३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिब ७७ वटै जिल्लाका विद्यार्थीले अध्ययनरत छन् ।

विद्यालयमा पुस्तकालय भवन निर्माणका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको प्रधानाध्यापक शर्माले बताइन् । विद्यालयको पूर्व विद्यार्थी मञ्च पुस्तकालय भवन निर्माण अभियानमा जुटेको हो ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस