लापर्वाहीपूर्वक गरिएका उत्खननले विकास निर्माण ध्वस्त : जिसस प्रमुख पौडेल

  • पोखरा न्यूज
  • २०८० पौष २४
लापर्वाहीपूर्वक गरिएका उत्खननले विकास निर्माण ध्वस्त : जिसस प्रमुख पौडेल

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यका नीति र नियम भित्र रहेरमात्र नदी तथा खानीजन्य पदार्थको उत्खनन् गर्न आग्रह गरेका छन् ।

जिल्ला समन्वय समिति कास्कीले पहिलो पटक आयोजना गरेको नदीजन्य तथा खानीजन्य पदार्थसम्बन्धी अन्तरक्रियामा पौडेलले यस्तो आग्रह गरेका हुन् ।

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन् सम्बन्धी जिल्ला अनुगमन समिति कास्कीका संयोजकसमेत रहेका पौडेलले कतिपय स्थानमा लापर्वाहीपूर्वक गरिएका उत्खननले विकास निर्माण ध्वस्त पारेको बताए ।

व्यवसायीहरू विकासका वाहक र सहयात्रीसमेत भएको भन्दै उनले बनेका विकास आयोजनाको संरक्षण र प्राकृतिक स्रोतकोसमेत मैत्रीपूर्ण प्रयोगमा कुनै गल्ती नगर्न आग्रह गरे ।

कास्कीका अधिकांश खानीजन्य उद्यधोग मापदण्ड विपरित सञ्चालन भएको आफूहरूले अनुगमनले भेट्टाएको भन्दै उनले व्यवस्थित वातावरण निर्माणका लागि वार्षिक कार्ययोजना अनुसार अघि बढिएको स्पष्ट पारे ।

प्रमुख पौडेलले सरकारका अंग, नागरिक, व्यवसायीको सहकार्यले मात्रै कानूनी राज्यको अनुभूति हुने हुँदा कुनै पनि विकासका लागि आवश्यक सुशासन निर्माणमा घनिभूत तवरले लागि पर्न निर्देशन दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राज्यका कानून, नीति र नियमको पूर्ण पालनासहित कठिनाइहरूको निराकरण गर्नुपर्ने भन्दै प्रकृतिमैत्री विकासमा महानगर तयार रहेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कुनै पनि नागरिकले राज्यको कानून र नियम मान्दिन भन्न नपाइने भन्दै यदि कानून मापदण्ड पालना नगरेको पाइएमा त्यो क्षम्य नहुने चेतावनी दिए ।

राज्यलाई राजश्व तथा कर तिरेर मात्रै वैधानिकता प्राप्त नहुने भन्दै उनले राज्यले समय परिस्थिति अनुसार हरेक क्षेत्रमा मापदण्ड तोक्ने सक्ने बताए ।

कास्की प्रहरी प्रमुख मोहन थापाले गैरकानूनी उत्खनन र निकासी नियन्त्रणमा प्रहरी संयन्त्र प्रभावकारी तवरले सञ्चालन भएको बताए ।

क्रसर उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष लिलाधर बरालले वैधानिक नदी र खानीजन्य व्यवसायीले विगत ८ बर्षदेखि डोजर नचलाएको दावी गरे । यदि त्यस्तो पाइए ठाडो कारबाही गर्न उनले आग्रह गरे ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले अहिलेको मापदण्ड अनुसार कास्कीका कुनै पनि क्रसर उद्योग संचालन नभएको उल्लेख गरे ।

कार्यक्रममा क्रसर व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष लिलाधर बराल, नेपाल खानी तथा क्रसर उद्योग व्यवसायी संघ गण्डकीका महासचिव छत्रधर आत्रेय, व्यवसायीहरु भोजराज पौडेल, शिव अधिकारी, सुरेन्द्र त्रिपाठी, झंकनाथ पोखरेल, नवराज पौडेल, इमानसिंह गहतराजले व्यवसायीलाई परेका समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरीता माल, सदस्य राजु अधिकारी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा.रबिन कडरिया, पूर्वाधार विकास कार्यालयका तर्फबाट सोभियत खड्का, जिल्ला वन कार्यालयको तर्फबाट पूणेश्वर सुवेदी, आन्तरिक राजश्व कार्यालयको तर्फबाट शिव शर्मा, सेती नदी संरक्षण अभियानका प्रमुख हेम पौड्याल, रामचन्द्र सुवेदी र भुवनेश्वर पोखरेल, सञ्चारकर्मी प्रकाश अधिकारी, मादी गाउँपालिका वडा नं. १२ का अध्यक्ष कृष्णराज दाहाल लगायतले बोलेका थिए ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस