आजको मौसमः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह

पोखरा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । गण्डकी, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाटसमेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यस्तै, शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button