प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश पराजित

पोखरा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा गण्डकी प्रदेश पराजित भएको छ । मधेस प्रदेशले गण्डकी प्रदेशलाई एक सय ४५ रनको भारी अन्तरले पराजित गरेको हो ।

मधेसले जितका लागि दिएको तीन सय ३६ रनको विशाल लक्ष्य गण्डकी प्रदेश ३९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९० रनमा समेटियो । गण्डकीका लागि ईश्वर क्षेत्री र कमल परियारले समान २७/२७ रनको योगदान दिए ।

त्यसैगरी, कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समीर कँडेल र मुस्कान थापाले समान १८/१८ रन बनाए । मधेसका लागि रञ्जित कुमारले चार विकेट लिए भने कप्तान हरिशङ्कर शाहले तीन विकेट लिए । त्यसैगरी, प्रदीप पासवानले दुई तथा राजेश यादवले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ३५ रनको योगफल बनाएको थियो । मधेसका लागि अनिल साहले सर्वाधिक एक सय २७ रनको योगदान दिए ।

उनले एक सय २५ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गरे। अरनिको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सराफले ४०, रुपेश सिंहले ३२, अविशेक तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कृष्ण पौडेल र कमल परियारले समान एक–एक विकेट लिए । यस जितसँगै मधेस सात खेलमा आठ अङ्क जोडेको छ । यता गण्डकी प्रदेश पाँच खेलमा चार अङ्क बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button