पोखरास्थित लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव शुभारम्भ

विष्णुहरि पौडेल

पाेखरा । पोखरा महानगरपालिका वडा नं २७ स्थित लक्ष्मी आदर्श माविको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सव सुरु भएको छ ।

विद्यालयमा निर्मित स्वर्णजयन्ती स्तम्भको अनावरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शैक्षिक क्षेत्रमा राज्यले गरेको लगानीलाई विद्यार्थीले फिर्ता गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयको शैक्षिक विकासमा राज्यले ठूलो धनराशी लगानी गरेको भन्दै उनले त्यसबाट लाभान्वित विद्यार्थीले केही अंश राज्यलाई फिर्ता गर्नुपर्ने बताए ।

कक्षा ११/१२ पढेपछि विदेशिने प्रचलन बढेको तितो यथार्थ रहेको मुख्यमन्त्रीले बताए । रोजगारीका लागि कमाउन जहाँ गए पनि राज्यले गरेको लगानीलाई जन्मभूमिको ऋण सम्झिएर फिर्ता गर्न आग्रह गरे ।

माटोले खोजेको र समयले मागेको शिक्षा दिन आवश्यक रहेको भन्दै मुख्यमन्त्रीले युवालाई स्वदेशमै रहने वातावरणका बारेमा चिन्तनशील हुनुपर्नेमा जोड दिए ।

पूर्व मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा क्षेत्रमा देखिएको नकारात्मक पक्षलाई कसरी शुद्धीकरण गर्न सकिन्छ भन्ने बारेमा सामुहिक चिन्तन आवश्यक रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सव पछिको शैक्षिक प्रणालीमा आमूल परिवर्तन आउने दावी गरे । उनले व्यावहारिक र प्रयोगात्मक शिक्षालाई जोड दिइएको बताए ।

कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, संघीय सांसद मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्व सभासद दीपक कोइराला, पोखरा-२७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसहित विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालय स्थापना कालदेखि शैक्षिक, भौतिक क्षेत्रमा सहयोग गर्ने चन्दादाता, जग्गादाता, अक्षयकोषदातालाई सम्मान गरिएको थियो ।

यसैगरी फागुन १७ मा स्वर्णजयन्ती प्रवेशद्वार उद्घाटन र फागुन १८ मा स्मारिकाको विमोचन गर्ने कार्यक्रम छ । विद्यालयमा हाल १ हजार ६३ विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button