पोखरामा नाटक ‘रिफण्ड’ को मञ्चन जारी, शनिबारदेखि पब्लिक शो

पोखरा । ‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भैरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ ।

फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ ।

शनिबार दिउँसो १ बजे तथा आइतबार र सोमबार साँझ ५ बजे नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

हालसम्म यो नाटक १४ शोमार्फत झण्डै ३ हजार जनाले बुकिङ शो मार्फत हेरिसकेको उनले दावी गरे । पब्लिक शोमार्फत नाटक हेर्न २ सय रुपैयाँ शुल्क लाग्नेछ ।

हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको छ ।

कमेडी जनरामा निर्माण भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ ।

नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुशन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन परिवर्तले गरेका छन् ।

नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पुर्याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचार-प्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा शुभेच्छा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ ।

पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button