एकै महिनामा ५५ लाख ७० हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ ।

सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

गत महिनामा मन्दिरमा करिब १८ हजार भक्तजनले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् ।

समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए ।

फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ ।

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।

वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् ।

काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button