पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समृद्धि र विकास प्रजातन्त्रमा मात्रै सम्भव हुने बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा नेपाली कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभागद्वारा पोखरामा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले समाजवादको मूल आधार प्रजातन्त्र भएको हुँदा त्यसलाई बलियो बनाउन कांग्रेसका हरेक कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड थिए ।
गण्डकी प्रदेश जनजातिको बाहुल्यता भएको प्रदेश भएकाले उनीहरुमा समृद्धि क्षमता विकासका कांग्रेसले आफ्ना नीति तथा कार्यक्रम अगाडि सार्नुपर्ने खाँचो औंल्याए ।
प्रजातन्त्रका प्रत्येक आन्दोलनमा गण्डकी प्रदेशका आदिवासी जनजातिले खेल्दै आएको योगदानलाई भुल्न नसकिने भन्दै उनले जनजातिले आफ्नो संस्कृति, वेषभूषा र रीतिरिवाजलाई बिर्सन नहुने स्पष्ट पारे ।
‘माओवादी द्वन्द्वमासमेत विचलित नभएका कांग्रेस कार्यकर्ताले प्रजातन्त्रको रक्षाका निम्ति पुर्याएको योगदान अतुलनीय छ’, सभापति शर्माले भने, ‘कांग्रेस बलियो बनाउन सक्यौं भने हरेक व्यक्तिले स्वतन्त्रपूर्वक बाँच्न र आफ्ना गतिविधि निर्धक्कसाथ सञ्चालन गर्न सक्छ ।’
‘प्रजातन्त्रमा मात्र व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस तथा स्वतन्त्र न्यायालयको सम्भव छ’, सभापति शर्माले भने । वीपीको प्रजातान्त्रिक समाजवादको बाटोबाट कांग्रेस अगाडि बढ्न जरुरी रहेको उनले बताए ।
कांग्रेस जनतालाई नै मालिक मानेर अगाडि बढ्न पार्टी भएकाले सम्पूर्ण नेपालीको भविष्य कांग्रेसमा नै भएको भनाइ उनको छ ।
सभापति देशमा भएका भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन कांग्रेसले आफ्नो अभियान देशव्यापी रुपमा सञ्चालन गर्दै नेपाली जनतालाई कांग्रेसप्रति आकर्षित गर्न जरुरी भएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले भूगोलको मात्र नेपाल नभएर यहाँका हरेक जातिको धर्म, संस्कृति, भाषा, रीतिरिवाज र वेषभूषा पनि नेपाल भएको बताइन् ।
यहाँका हरेक जाताजातिको महत्व त्यतिकै भएकाले पछाडि परेको जातजातिको सर्वाङ्गीण विकासका लागि कांग्रेसले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा उनको जोड थियो ।
पार्टीका महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेसका हरेक कार्यकर्ताले पार्टीको हितमा सक्रिय भएर काम गर्न सक्यौँ भने कांग्रेस बलियो हुने बताए ।
सो अवसरमा कांग्रेसका नेता माधव बास्तोला, कोपिला रानाभाट, सीता गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष जीतबहादुर गुरुङ लागायतले बोलेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभाग प्रमुख अजित क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution