पोखरामा पनि पठाओ

पोखरा । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरामा पनि सेवा विस्तार गर्ने भएका छ । पठाओको सेवा यसअघि काठमाडौं र चितवनमा मात्रै सीमित थियो ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरासँगै मुलुकका १७ शहरमा सेवा विस्तार गर्न लागिएको हो ।

कोशी प्रदेशका वराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, विर्तामोड, भद्रपुर, मधेशको वीरगञ्ज र जनकपुर, बागमतीको हेटौंडा, लुम्बिनीको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो ।

भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना रहेको बस्न्यातले बताए ।

उनका अनुसार नजिकैको एक शहरबाट अर्को शहरमा जान इन्टरसटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा वस्तार गर्न लागिएको छ । सेवा विस्तार हुने शहरमा बाइक राइडर दर्ता प्रक्रिया सुरु भएको छ ।

राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्ने छन् । कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइने बस्न्यातले बताए ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा पाँच हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४ सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ ।

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button