|रकम बुझाउदै प्रहरी, बुझ्दै दुर्गाबहादुर सुनार, बीचमा छोटुलाल।
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न बिहीबार दिउँसो बैंक निस्कए ।
मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँबजारस्थित कृषि विकास बैंक गए ।
बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन् ।
वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे । त्यसपछि पसल सञ्चालक दुर्गाबहादुर सुनार हुँदै प्रहरीसम्म खबर पुग्यो ।
पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो ।
हराएको पैसाको झोला भारत घर भई पोखरा-३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएका रहेछन् ।
टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सकेका थिएनन् ।
“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।”
डीएसपी शर्माले भने, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।”
डीएसपी शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वेलर्सका सञ्चालक पोखरा-५ बस्ने ४३ वर्षीय दुर्गाबहादुर सुनार बुझाइएको जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution