आज कामदा एकादशी : व्रत वा पूजा विधि र राेचक कथासहित

पोखरा । आज कामदा एकादशी परेको छ । चैत शुक्लपक्ष एकादशी तिथिलाई कामदा एकादशीका नामले चिनिन्छ ।

यो एकादशीको विधिपूर्वक व्रत राख्नाले सम्पूर्ण कामना पूरा हुने भएकाले यसको नाम कामना पूर्ण गर्नेवाला अर्थात् कामदा रहने गएको हो ।

हरेक महिनाका शुक्लपक्ष र कृष्णपक्षका ११औं तिथिलाई दुई एकादशी भन्दछन् । पूर्णिमापछि आउने एकादशी तिथिलाई कृष्णपक्षको एकादशी भनिन्छ भने औंशी वा अमावश्यापछि आउने तिथिलाई शुक्लपक्षको एकादशी तिथी भनिन्छ ।

हिन्दू सनातन सम्प्रदायमा यी दुवै प्रकारका एकादशी तिथिको धेरै महत्व छ । एकादशीको व्रतलाई महाव्रत पनि भनिन्छ । अन्य व्रतको तुलनामा एकादशी व्रतको महत्व अधिक रहेको बताइन्छ ।

एकादशी स्वर्ग मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । गंगा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्य क्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना एकादशीका साथमा हुन सक्दैन । गंगा नदी र अन्य तीर्थ क्षेत्रहरु हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ ।

यी नदी र तीर्थको नाम लिना साथ तीर्थस्नानको फल प्राप्त हुने विश्वास गरिन्छ । तर, यस्ता पवित्र तीर्थस्थमध्ये एकादशीसँग एउटा स्थानको पनि तुलना नहुने बताइएको छ ।

व्रत वा पूजा विधि

पूजा सामग्री : भगवान विष्णुको मूर्ति वा प्रतिमा, पुष्प, नरिवल, सुपारी, फल, ल्वांग, धूप, दीप, घ्यू, पञ्चामृत, अक्षता, तुलसीदल, चन्दन, फल, मिठाई आदि ।

यस दिन प्रातः उठेर स्नानदीद्वारा निवृत्त भइ शुद्ध वस्त्र धारण गरेर मन्दिरमा दीप प्रज्ज्वलन गर्ने । मन्दिरमा देवीदेवतालाई स्नान गराउने र स्वच्छ वस्त्र पहिराउने । व्रत गर्न सकिन्छ भने व्रतको संकल्प लिने ।

भगवान विष्णु र महालक्ष्मी माताको पनि ध्यान गर्ने । भगवान विष्णुलाई सात्विक भोजनको भोग लगाउने । भोगमा तुलसीलाई सामेल गराउन नबिर्सिने । आवश्यक परे गुरु पुरोहितको सल्लाहमा व्रतविधि गर्ने ।

कथा

धर्मराज युधिष्ठिर भन्नुहुन्छ– ‘हे भगवान ! म हजुरलाई कोटी कोटी प्रणाम गर्दछु । कृपा गरेर मलाई चैत्र शुक्ल एकादशीको महात्म्य बताउनुहोस ।’ श्रीकृष्ण भन्नुहुन्छ– ‘हे धर्मराजा ! यही प्रश्न एक समय राजा दिलीपले गुरु वशिष्ठसँग गर्नुभएको थियो, उहाँले जो महात्म्य बताउनुभएको थियो, तिमीलाई म त्यही महात्म्य बताउँदैछु, ध्यानपूर्वक सुन ।’

‘प्राचीनकालमा भोगीपुर नामको एक नगर थियो । उहाँ पुण्डरीक नामका राजा राज्य गर्दथे । उनी ऐश्वर्यले युक्त थिए । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्वहरु पनि बस्ने गर्दथे । उनीहरुबिच अत्यन्त स्नेह थियो । कुनै उनीहरु आपसमा अलग हुनुपर्यो भने पनि अत्यन्त दुःखी हुन्थे ।

एकदिन राजा पुण्डरीकको सभामा अन्य गन्धर्वहरुसहित ललित पनि गीत गाइरहेको थियो । गाउँदागाउँदै उसलाई आफ्नी प्रिय ललिताको याद आयो र स्वर भंग हुन गई गीतको मीठास बिग्रीयो । यसरी गीत बिग्रिएको कुरा कर्कोटक नागले राजालाई भन्यो र राजा अत्यन्त क्रोधित हुँदै ललितलाई श्राप दिन लागे– ‘मेरो सभामा गाउँदागाउँदै आफ्नी स्त्रीलाई स्मरण गरेर सभाको शोभा बिगार्ने तँ काँचो मासु र मनुष्यलाई खानेवाला राक्षस बनेर आप्mनो कर्मको फल भोग ।’

राजाको श्रापका कारण ललित त्यसै क्षण विशाल राक्षसमा परिणत भयो । उसको मुख अत्यन्त भयंकर, आँखा पनि सूर्य चन्द्रमा जस्तो प्रदीप्त र मुख पनि आगोको लप्का निस्किने डर लाग्दो बन्यो । नाक पर्वतको कन्दरा जस्तो, गर्दन पर्वतसमान, हात पाखुरा अत्यन्तै लामा, शीरको कपाल पर्वतका रुखसमान र सम्पूर्ण शरीर आठ योजनको रुपमा विस्तार भयो । यस रुपमा ललित अनेक प्रकारका दुःख भोग्न थाल्यो । यो सब देखेर उसकी स्त्री अत्यन्त दुःखी भइ । आफ्नो पतिको उद्धारको उपाय सोच्न लागि । पतिको पछि‍पछि जाँदै विलाप गर्न लागिन् । एकदिन आफ्नो पतिको पछिपछि लाग्दै जाँदा विन्ध्याचल पर्वतमा पुगी त्यहाँ श्रृंगी ऋषिको आश्रम थियो । ललिता शीघ्र आश्रममा पुगेर विनीत भावले प्रार्थना गर्न लागिन् ।

यो देखेर ऋषिले सोधे– ‘हे बालिके ! तिमी को हौ ? र यहाँ के कति कामले आयौँ ?’ ललिता भन्न लागिन्– ‘हे मुनी ! मेरो नाम ललिता हो । राजा पुण्रीकको श्रापका कारण मेरा पति विशालकाय राक्षस बन्नुभएको छ । म यो कुराले अत्यन्त दुःखी छु । कृपा गरी यसको उद्धारको उपाय बताइदिनुहोस् ।’

ऋषिले भन्न लागे– ‘हे गन्धर्व कन्या ! चैत्रशुक्ल एकादशी आउनै लागेको छ, जसको नाम कामदा एकादशी हो । यो व्रत गर्नाले मनुष्यका सम्पूर्ण कार्यहरु सिद्ध हुन्छन् । यदि तिमीले यो व्रत गरेर यसको पुण्यको फल आफ्ना पतिलाई दियौ भने ऊनी छिट्टै राक्षस योनीबाट मुक्त हुनेछन् र राजाको श्राप अवश्य शान्त हुनेछ ।’

मुनिको सल्लाह अनुसार ललिताले चैत्रशुक्ल एकादशी आउञ्जेल प्रतिक्षा गरी र कामदा एकादशी आएपछि एकादशीको नियमपूर्वक व्रत गरी र द्वादशीका दिन ब्राम्हणको सामने आफ्नो व्रतको फल आफ्नो पतिलाई दिइ र भगवानको प्रार्थाना गर्न लागिन्– ‘हे प्रभु ! मैले यो जुन व्रत राखेँ, यसको फल मेरो पतिलाई मिलोस् र उहाँलाई छिटै नै राक्षस योनीबाट मुक्ति मिलोस् ।’

व्रतका प्रभावले ललितलाई आफ्नो पुरानै स्वरुप प्राप्त भयो र सुन्दर वस्त्राभूषणले युक्त भएर ललिताको साथमा विहार गर्न लाग्यो र पछि दुवैजना विमानमा बसेर स्वर्गलोक गए ।

वशिष्ठ ऋषिले भन्नुभयो– ‘हे राजन ! यस व्रतको विधिपूर्वक पालना गर्नाले समस्त पाप नाश भएर जान्छ तथा राक्षस आदिको योनीबाट समेत छुटकारा मिल्दछ । यस संसारमा यो जति उत्तम व्रत कुनै छैन । यसको कथा पढ्नाले वा सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button