पोखराका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना, निर्धक्क भएर सेवा लिन आग्रह

  • पोखरा न्यूज
  • २०८१ आश्विन १६
पोखराका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना, निर्धक्क भएर सेवा लिन आग्रह

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको पहलमा पोखराका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र र पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको सहयोगमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं २७ तालचोक, पोखरा-१७ बरको बोट, पोखरा-९ पृथ्बीचोक, पोखरा-२ बागलुङ बसपार्क र पोखरा-७ पर्यटक बसपार्कमा सेवा केन्द्र स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चाडपर्व सुरक्षा योजनाअन्तर्गत चाडपर्वमा नागरिकको आवतजावत, सवारीसाधनको चाप वृद्धि हुने भएकाले सवारीसाधनले बढी भाडा लिने, यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्का तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा ६ वटै यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो ।

पोखरा-४ स्थित बसपार्कमा स्थापित यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले यात्रुको सहजताका लागि नै यात्रु सहायता कक्ष राखिएको बताए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका अध्यक्ष रामप्रसाद अधिकारीले यात्रुले केही समस्या परेमा निर्धक्क भएर सहयोग लिन आग्रह गरे ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश सहसचिव बालकृष्ण पोख्रेलले सवारीसाधनमा यात्रुलाई सेवा दिँदा विशेष ख्याल गर्न आग्रह गरे ।

अस्थायी ट्राफिक पोष्ट बगरका ईन्चार्ज प्रहरी नायब निरीक्षक भिमबहादुर खत्रीले यात्रुसँग प्रत्यक्ष जोडिने काम कक्षले गर्ने बताए ।

तस्बिरहरु



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस