पोखरा-२८ मा कृषि र पर्यटनको धेरै सम्भावना : कडरिया

  • पोखरा न्यूज
  • २०८१ मंसिर ६
पोखरा-२८ मा कृषि र पर्यटनको धेरै सम्भावना : कडरिया

पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशको आयोजनामा पोखरा-२८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला सम्पन्न भएको छ ।

पोखरा-२८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् ।

कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्यका साथ यस किसिमको कार्यशाला आयोजना गरिएको उनले बताइन् ।

महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा-२८ कृषि, पर्यटनलगायतका क्षेत्रमा धेरै सम्भावना बोकेको बताए । उनले वडाको सम्भावनालाई उजागर गर्ने किसिमका कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्राकृतिक स्रोतको दीगो प्रयोग, वन र जमिनको प्रवद्र्धनका साथै बजार पहुँचमा सुधार गर्नुपर्नेमा जोड दिँदै उनले पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।

पर्यटकीय रुपमा यहाँका ठूलाकोट, वलीडाँडा, चुत्राकोडाँडा, चिन्तेकोडाँडा हुँदै रोयल ट्रेकलाई प्रवर्द्धन गर्दै यिनीहरूको पर्यटकीय उपयोग गरी स्थानीयको आयआर्जन बढाउन सकिने उनको भनाइ छ ।

पोखरा-२८ का वडाध्यक्ष श्रीकृष्ण लामछानेले वडाभित्रका हरेक सम्भावनालाई उजागर गर्न लागिएको बताए ।

पछिल्ला समयमा कृषि पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुँदै आएको चर्चा गर्दै उनले स्थानीय जागरुकता अभिवृद्धिका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण बन्ने बताए ।

कृषि उत्पादनको बजारिकरणका माध्यमबाट स्थानीयको स्वरोजगार अभिबृद्धि गर्दै आय आर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको उनले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस