पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सव

पोखरा । पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार भएको छ ।

कार्यक्रममा क्याम्पसका संस्थापक प्राध्यापक एवं पूर्वक्याम्पस प्रमुख पीताम्बर शर्मा तिमिल्सिनाले युवा पलायन रोक्न पढ्दै कमाउँदैको रणनीति बनाउनुपर्ने सुझाव दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले भने, ‘शिक्षासँगै प्राविधिक सिप र व्यावहारिक ज्ञान दिने हो भने विद्यार्थी स्वदेशमै टिक्छन् ।’

तिमिल्सिनाले क्याम्पसको विकासमा नेतृत्वले अपनत्व लिनुपर्नेमा जोड दिए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले भौतिक पूर्वाधार र शैक्षिक गतिविधि उत्कृष्ट रहेकाले विद्यार्थी भर्नादर घट्दो भए पनि गुणस्तरमा सम्झौता नगर्ने बताए ।

विजुक्छेले सामुदायिक क्याम्पस सञ्चालनमा सास्ती र समस्या भए पनि आफ्नै खुट्टामा उभिएर मानित विश्वविश्द्यालय बनाउने सपना पूरा गर्ने स्पष्ट पारे ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पसले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धतासहित भिजन २१०० रणनीतिक योजना अनुरूप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।

क्याम्पसले स्वयत्त कार्यक्रमअन्तर्गत नेपालमे पहिलो पटक स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमबीए इन हस्पिटालिटी म्यानेजमेन्ट १३ वटा शैक्षिक कार्यक्रम चलाइरहेको बरालले उल्लेख गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, संरक्षक प्रकाशदेव पालिखे, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषि बुढाथोकी, नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका अध्यक्ष सन्तोष अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष नरेश बराल, अखिल क्रान्तिकारीका रुमेश पौडेल, नेपाल विद्यार्थी संघका सुजन भट्टराई, अनेरास्ववियुका सचिन अधिकारीलगायतले जनप्रियको शाखलाई जोगाउन आन्तरिक समस्या समाधान गरी क्याम्पसलाई केन्द्रमा राख्न आग्रह गरे ।

उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक दिननाथ लामिछाने र कर्मचारी विमला पौडेललाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्मान गरिएको थियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी उपेन्द्र चौधरी सम्मानित भएका छन् ।

विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलापअन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल, चित्रकला प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रातः र दिवा सत्रमा ४ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ ।

विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशकै उत्कृष्ट क्याम्पसका रूपमा गत असोज २ गते जनप्रियलाई पुरस्कृत गरेको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाइका अध्यक्ष विकास थापामगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button