चिनियाँ पञ्चेन लामा नेपाल आउँदै, भ्रमण रोक्न दबाब

पाेखरा। विवादित छविका चिनियाँ पञ्चेन लामा ग्याल्त्सेन नोर्बु (जीएन) नेपाल आउने भएका छन् । उनी आगामी बिहीबारदेखि लुम्बिनीमा आयोजना हुन लागेको नवौँ साउथ चाइना सी (नान्हाई) बौद्ध धर्म गोलमेच सम्मेलनमा भाग लिन आउने कार्यक्रम रहेको हो ।

उनी भने आगामी शनिबार आउने छन् । उनी नेपालमा पुस २ गतेसम्म बस्नेछन् । उनको नेपाल भ्रमणलाई लिएर भने विरोध भइरहेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

चीनले दलाई लामालाई कमजोर बनाउन पञ्चेन लामालाई नियुक्त गरेको हो । नेपाल एक चीन नीतिमा अडिग रहेकाले दलाई लामाका कार्यक्रम पनि गर्न दिइरहेको छैन । तर चीनले भने आफ्नै नीतिको विरुद्धमा जाँदै पञ्चेनलाई सक्रिय बनाएर नेपाल पठाइरहेको हो ।

चीनको यो कदमप्रति नेपालमा विरोधको स्वर सुनिन थालिएको छ । अझ पश्चिमा मुलुकहरु झन् असन्तुष्ट छन् ।

चीनले दलाई लामालाई काउन्टर दिन पञ्चेनलाई पठाउन लागेको भए पनि नेपालमा भने अस्थिरता बढ्ने चिन्ताका रुपमा विदेश मामिलाका विज्ञहरुले लिन थालेका छन् ।

परराष्ट्रको उच्च स्रोतका अनुसार अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका बेलामासमेत यो विषयमा चर्चा भएको थियो ।

अमेरिकासँगै पश्चिमाहरुले पञ्चेनको नेपाल भ्रमणलाई लिएर चिन्ता जनाइएको छ । लू दुई दिने नेपाल भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएका छन् । दलाई लामाको गतिविधिबारे जसरी चीन सशंकित छ त्यसरी नै पञ्चेनको विषयलाई लिएर पश्चिमा देशहरु सशंकित छन् ।

उनीहरुले नेपालमा अस्थिरता बढ्न सक्ने खतरा औँल्याउँदै पञ्चेनको भ्रमण स्थगित हुनुपर्नेमा जोड दिएकोसमेत पाइएको छ । अरु त अरु पञ्चेन लुम्बिनी जाँदा लुम्बिनीलाईसमेत विवादमा तान्न खोजिएको शंका गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन गएका बेलामा गत साताको बुधबार चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लार्ए नेपालको ठोस इच्छालाई घुमाउरो पाराले अस्वीकार गरी आफू सुहाउँदो हस्ताक्षर गराएको आरोप खेपेको चीनले हस्ताक्षर लगत्तै अर्का विवादित व्यक्तिलाई नेपाल पठाउनुले पक्कै ठूलै षड्यन्त्र रचिएको हुन सक्ने आशंकासमेत पैदा भएको छ ।

यसअर्थमा पनि पश्चिमाले सरकारलाई विवादित छविका पञ्चेनलाई नेपाल भ्रमण गर्नबाट रोक्न दबाब दिएको पाइएको छ ।

शान्ति भूमिसँगै गौतम बुद्ध जन्मेको लुम्बिनीमा विवादित छविका व्यक्तिलाई प्रवेश दिँदा त्यसले गलत सन्देश दिने चिन्ता पनि हुँदै आएको छ । आखिर किन जबरजस्ती उनलाई नेपालमा पठाउन खोजिएको छ ? भन्ने प्रश्न अहम् रहेकोसमेत विज्ञहरु बताउँछन् । कतै यसले नेपालको भूराजनीतिलाई असर गर्ने त हैन ? भन्ने चिन्ता पनि सँगसँगै व्यक्त गरिएको छ ।

बीआरआईको हस्ताक्षर लगत्तै पञ्चेन नेपाल आउँदा नेपाललाई जानीजानी भूराजनीतिमा फसाउन खोजिएको शंका पनि उत्तिकै छ ।

धेरै देशले आशंका व्यक्त गरिरहेका बेलामा पञ्चेनलाई किन ल्याउने त ? भनी सरकारले जवाफ दिइरहेको छैन । थिंक ट्यांकहरुले सरकारले उनको नेपाल भ्रमण स्वीकृत गर्नुलाई दुर्भाग्य भएकोसमेत बताउँछन् ।

पञ्चेनलाई नेपाल भ्रमणका लागि चीनले नेपाल सरकारलाई दबाब दिएर स्वीकृत गराउनुले नेपालको परराष्ट्र नीति खतरामा पुगेकोसमेत आँकलन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button