तनहुँको थानीमाई मन्दिरमा ३८ फूलको डोली भित्रियाे

  • पोखरा न्यूज
  • २०८१ मंसिर २६
तनहुँको थानीमाई मन्दिरमा ३८ फूलको डोली भित्रियाे

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्सिरको अन्तिम मंगलबार ३८ फूलको डोली भित्रिएको छ ।

तनहुँ, पोखरा, काठमाडौँ, लमजुङ, नवलपुरबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष जीवन थापाले त्यसक्रममा पॉच हजार २८ भक्तजनले मन्दिरमा पूजाआजा गरेको जानकारी दिए । यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको संख्या दुई सय सात रहेको थियो ।

मंसिरको पहिलो मंगलबार ४३ र तेस्रो मंगलबार २६ फूलको डोली भित्रिएको थियो । दोस्रो मंगलबार भने एकादशी परेका कारण फूलको डोली भित्रिएको थिएन ।

प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ ।

मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।

भक्तजन फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् ।

परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ ।

बाजागाजा र ध्वजापताकासहित थानीमाइको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाइ मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस