सवारी दुर्घटनामा बालिकाको मृत्यु, चार जना घाइते

  • पोखरा न्यूज
  • २०८१ मंसिर २६
सवारी दुर्घटनामा बालिकाको मृत्यु, चार जना घाइते

रुकुमपश्चिम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सिस्ने-६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर छन् ।

लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका-६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका-५ का ४० वर्षीय टोपबहादुर कार्की छन् ।

उनका अनुसार गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीन जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस