पोखरा । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका पूर्वडीआइजी छविलाल जोशीको बयान दुई दिन लगाएर सकिएको छ । उनको बयान सोमबारदेखि सुरु भएको थियो ।
जोशीको बयान सकिए लगत्तै सहकारी ठगीकै मद्दाकी लीला पछाईंको बयान सुरु भएको कास्की जिल्ला अदालत स्रोतले जनाएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछानेको बयान बुधबार मात्रै सुरु हुन सक्ने बताइन्छ ।
बयानका लागि रवि, छवि, लिला, व्यवसायी रामबहादुर खनाललाई आज पनि अदालतमा उपस्थित गराइएको हो । बिरामी परेका कारण अर्का आरोपी कृष्ण गुरुङलाई भने आज अदालतल उपस्थित गराइएको छैन ।
उनीहरुबिरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा आइतबार मुद्दा दायर भएको हो । उनीहरुविरुद्ध दायर भएको अभियोगपत्र चार सय २७ पृष्ठ लामो छ ।
पूर्वगृहमन्त्री लामिछानेमाथि रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबी गरिएको छ ।
यस्तै जोशीविरुद्ध रु ७४ करोड ३४ लाख ७१ हजार तथा अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको हो ।
यस्तै लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराध र ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको बताइन्छ ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
सहकारी बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनीमाथि कास्कीसहित काठमाडौं, चितवन, बारा र रुपन्देहीमा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
अदालतमा मुद्दा पुगेसँगै रविको सांसद पद निलम्बनमा परिसकेको छ । साथै उनको पार्टी रास्वपाले समेत उपसभापति डीपी अर्याललाई कार्यबाहक सभापति तोकिसकेको छ ।
दीपेश पुन र निकिता पौडेल पनि दोषी
अदालतमा मुद्दा दायर हुँदा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र रवि पत्नी निकिता पौडेलको नाम पनि उल्लेख गरिएको छ ।
पुन सहकारीका बचतकर्तालाई विश्वास दिलाउने, आकर्षक ब्याजदरको प्रलोभन देखाउनेलगायतका कार्यबाट गैरकानूनी लाभ लिने कार्यमा संलग्न देखिएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।
पुनले आफूसँग मतभेद हुने व्यक्तिलाई सहकारीबाट राजीनामा गर्न लगाएको, आफू र आफ्नो समूहको नियन्त्रणमा राखी सोही समूहमा रहेका अर्का प्रतिवादी भूपेन्द्र राई समेतको मिलेमतोमा बुटवलस्थित सुप्रिम सहकारीमा सञ्चालक समितिको सचिव रहेको पाइएको छ ।
उनले काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीमा आफ्नो श्रीमती रविना आलेलाई सञ्चालकमा राखेर आफू अनुकुल निर्णय गराएको, सूर्यदर्शन सहकारीबाट ऋण लिएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
उनले बचत अपचलन गर्ने क्रममा आफ्नो वास्तविक नाम नलेखेको समेत खुलेको अभियोग पत्रमा उल्लेख छ ।
यसैगरी पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनलार्य प्रतिवादी कायम गरिएको बताइन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।
सडक बन्द गरिँदा नागरिक समस्यामा
रवि लामिछानेसहितलाई अदालत उपस्थित गराउँदा सबै तिरका सडक बन्द गरिँदा नागरिक मर्कामा परेका छन् ।
उनीहरुलाई अदालत लगिएपछि आसपासका सडक वाईचोक, राष्ट्रबैंकचोक, जरेबर, मासबारको दुई स्थान लेकसाइडतर्फ सडक तथा अन्य भित्रि सडक बन्द हुने गर्दछ । रास्वपा र सहकारी पीडितकाे आन्दाेलनलाइ ध्यानमा राख्दै प्रशासनले निषेधित क्षेत्र ताेकेकाे हाे ।
जिल्ला प्रशासन, वडा प्रहरी कार्यालय, मोलपोत कार्यालयसहित अधिकांश सरकारी कार्यालय सोही क्षेत्रमा छन् । सडक बन्द हुँदा सो कार्यालयका सेवाग्राही टाढाबाट हिंडेर आउनु पर्ने बाध्यता छ ।
बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द हुँदा सो क्षेत्रका वासिन्दा प्रताडित भएका छन् । राज्यले एउटा व्यक्तिका लागि लाखौँ जनतालाई दुःख दिएको उनीहरुको गुनासो छ ।