पोखरा-१५ मा खेलकुद महोत्सव, दुई हजार खेलाडी सहभागी हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत् खेलकुद महोत्सव गर्ने भएको छ । वडा कार्यालयले आयोजना गरेको खेलकुद महोत्सवको यो तेस्रो संस्करण हो ।

प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकसी, दौड, साइक्लिङ, युनी हक्कीलगायतका खेलमा प्रतिस्पर्धा हुने खेल महोत्सव संयोजक एवं वडासदस्य आशिष भण्डारीले जानकारी दिए ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ हुने खेलकुद महोत्सवमा विगतका संस्करण भन्दा खेल संख्या र पुरस्कार राशीमा वृद्धि गरिएको छ ।

वन विज्ञान अध्ययन संस्थान पोखराको खेल मैदानका साथै वडास्थित विभिन्न संघसंस्थाका खेलकुद स्थलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

वडाध्यक्ष तोरणबहादुर बानियाँले वड़ा खेलकुद महोत्सवको अवधारणा स्थानीय तहमा खेलकुदको माध्यमबाट समुदायको सर्वांङ्गीण विकास गर्न केन्द्रित रहेको बताए ।

‘खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धा मात्र नभई शारीरिक र मानसिक स्वास्थ्य सुधार, सामाजिक रूपान्तरण र समावेशीकरणको प्रभावकारी माध्यम हो’, वडाध्यक्ष बानियाँले भने, ‘यो महोत्सवले स्थानीय स्तरमा खेलकुदको महत्वलाई स्थापित गर्न तथा समुदायमा सकारात्मक सोच र अनुशासनको विकास गर्न योगदान पुर्‍याउने ठानेका छौँ ।

स्थानीय युवालाई सकारात्मक क्रियाकलापमा सक्रिय गराउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको बानियाँले बताए ।

विभिन्न समुदायबीच आपसी सद्भाव, सहयोग र सहिष्णुतालाई प्रवर्द्धन गर्दै समावेशी समाजको निर्माणमा महत्वपूर्ण योगदान दिने लक्ष्य पनि लिइएको छ ।

खेल संयोजक आशिष भण्डारीले स्थानीय प्रतिभाको पहिचान गरी तिनीहरूको क्षमता विकास गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउन विगत तीन वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

‘अघिल्ला वर्षमा पाएको सफलता र थप अनुभवले यस संस्करणमा खेलकुदको विधा थप्दै पुरस्कार राशिमा पनि वृद्धि गरेका छौँ’, उनले भने, ‘करिब दुई हजार खेलाडी विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्, यो खेलकुदको महोत्सव नै हो ।’

फुटबलतर्फ पुरुष विधामा विजेताले ४० हजार तथा उपविजेताले ३३ हजार चार सय, विद्यालय स्तरीय छात्र फुटबलतर्फ विजेताले २६ हजार सात सय, उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।

यस्तै, भलिबलतर्फ पुरुष र महिला दुवैतर्फका विजेताले २६ हजार सात सय, उपविजेताले २० हजार, विद्यालय स्तरीय युनी हक्की छात्रछात्रा दुवैतर्फ विजेताले १० हजार, उपविजेताले छ हजार र तेस्रो हुनेले छ हजार पाउनेछ ।

विद्यालय स्तरीय छात्र साइक्लिङतर्फ प्रथम हुनेले आठ हजार, दोस्रो हुनेले छ हजार, तेस्रो हुनेले चार हजार र सान्त्वना हुने दुई जनाले दुई हजार प्राप्त गर्नेछन् ।

सडक दौड पुरुष, महिला, छात्र र छात्रा सबै चारवटै विधातर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले छ हजार र सान्त्वना हुने दुई जनाले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।

ब्याडमिन्ट डबल महिला र पुरुषतर्फ प्रथम हुनेले आठ हजार, दोस्रो हुनेले छ हजार, सिंगलतर्फ महिला र पुरुष दुवै विधामा प्रथम हुनेले पाँच हजार र दोस्रो हुनेले चार हजार पाउनेछ ।

महिला रस्साकसीमा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले आठ हजार, तेस्रो हुनेले छ हजार पाउनेछन् ।

ह्वीलचेयर बास्केटबलमा विजेताले १० हजार र उपविजेताले आठ हजार तथा ह्वीलचेयर दौडमा प्रथम हुनेले छ हजार सात सय, दोस्रो हुनेले पाँच हजार पाँच सय, तेस्रो हुनेले चार हजार र सान्त्वना दुई जनाले दुई हजार सात सय पाउने आयोजकले जनाएको छ ।

विभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने खेल संयोजक भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button