आज र भाेलि गण्डकीसहित देशभर वर्षाकाे सम्भावना

  • पोखरा न्यूज
  • २०८१ पौष १२
आज र भाेलि गण्डकीसहित देशभर वर्षाकाे सम्भावना

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीबार विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।

आज शुक्रबार र भाेलि शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना रहेको समेत विभागले विशेष सूचनामार्फत् सूचित गरेको छ ।

‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ’, विभागले भनेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस