पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ-नागढुंगा खण्डमा धमाधम काम, सवारी रोकिँदा यात्रु मर्कामा

  • पोखरा न्यूज
  • २०८१ पौष १२
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ-नागढुंगा खण्डमा धमाधम काम, सवारी रोकिँदा यात्रु मर्कामा

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत चितवनको मुग्लिङदेखि धादिङ हुँदै काठमाडौँको नागढुंगासम्मको सडकका विभिन्न स्थानमा सवारीसाधन रोकेर धमाधम सडक कटान भइरहेको छ ।

मुग्लिङ-मलेखु खण्डमा पर्ने विशालटार, धुनिवेशी नगरपालिका वडा नं ९ स्थित सिस्नेखोला क्षेत्रमा मोड सुधार गर्न, मलेखु-नौबिसेमा पर्ने पोखरेमा ‘हिल स्लोप कटिङ’ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सो क्षेत्रमा आंशिक रूपमा सडक बन्द हुनेबारे यसअघि सूचना प्रकाशन गरेको थियो ।

सडक कटान सुरु भएको क्षेत्रमा मध्याह्न ११ बजेदेखि २ बजेसम्म पूर्णरूपमा सवारी सञ्चालनमा रोक लगाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले जानकारी दिए ।

प्रहरीले सो क्षेत्रमा एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई चल्न दिएको छैन ।

एसपी सुवेदीका अनुसार पुस १३ गतेसम्म सडक निर्माण र विस्तारका लागि सो क्षेत्रमा मध्याह्न ३ घण्टा सवारी साधन चल्न नदिने निर्णय गरिएको छ ।

प्रहरीले सडक कटान गर्नुपर्ने क्षेत्रमा समय तोकेर मोटरसाइकल पनि सञ्चालनमा रोक लगाएको छ ।

प्रहरीका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारी साधन गल्छी–बैरेनी र हलुका सवारी साधन जरेखेतमा रोकिएका छन् ।

चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिएका छन् ।

साथै विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारी साधन चरौंदी बजारमा रोकिनुका साथै मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिएका छन् । यसबाट यात्रु समस्यामा पर्ने गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस