रवि लामिछानेको बयान आज पनि

  • पोखरा न्यूज
  • २०८१ पौष १२
रवि लामिछानेको बयान आज पनि

पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं हालका निलम्बित सांसद रवि लामिछानेविरुद्ध गत आइतबार मुद्दा दायर भएसँगै आज पनि बयान हुँदैछ ।

सहकारी प्रकरणमा पक्राउ परेका रविको बयान बिहीबारदेखि शुरु भएको हो । सोमबारदेखि अन्यको बयान भएकामा उनको पालो बिहीबारदेखि आएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट शुरु भएको बयान २ घन्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।

रविले अहिलेसम्म जति पनि बयान दिए र जहाँ पनि बयान दिएका छन् इन्कारी बयान नै दिएका छन् । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्की प्रतिवादी लीला पछाईसँग बयान लिन शुरु भएको थियो । जसका कारण यसअघि उनी अदालतमा गए पनि बयान दिन नपाएपछि यसै हिरासतमा फर्केका थिए ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागिमात्र प्रतिवादी कायम गरिएको छ । छवि पक्राउ परेको  ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो ।

लामिछानेविरुद्ध भने तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिए पनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।

लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसूरमा पनि सजाय गर्न मागदाबी लिनुपर्ने राय दिएको थियो ।

रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।  सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । ३ गतेदेखि उनी कास्की प्रहरीको हिरासतमा छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस