
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२दशमलव९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
मन्दाकिनी कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको सार्दीखोलामा रहेको र आयोजनाबाट चार मेगावाट बराबरको विद्युत शक्ति २०७४ साल मंसिरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ ।
कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ । मंसिर ७ मा भएको ११औँं वार्षिक साधारणसभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।






