|फाइल तस्बिर
पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्ने लक्षका साथ हरेक वर्ष पोखराको लेकसाइडमा आजदेखि २६औँ सडक महोत्सव शुरु हुँदैछ ।
महोत्सवको तयारी सबै पूरा भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेवान पोखराले महोत्सव आयोजना गरेको हो ।
महोत्सव उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गर्ने रेवान पोखराले जनाएको छ ।
कोमागाने पार्कमा हुने उद्घाटन अघि खहरेबाट विभिन्न जातजाति, ६० बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा साँस्कृतिक झाँकीसहितको र्याली हुने संयोजक विकास भट्टराईले जानकारी दिए ।
महोत्सवका लागि लेकसाइड क्षेत्रमा ध्वजापताका टाग्ने, स्वागत गेट बनाउने, स्टल र स्टेज बनाउने जस्ता काम सकिएको छ । लेकसाइडका सडक झकिझकाउ बनाइएको छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पोखराको लेकसाइड क्षेत्रको तीनकिलोमिटर क्षेत्रमा महोत्सव हुनेछ ।
‘सडकमै खाउ, सडकमै रमाउँ र सडकमै नाँचौं,’ भन्ने नाराका साथ हुने महोत्सव पर्यटकीय गतिविधि बढाउने नेपालकै विशेष कार्यक्रम मान्न सकिन्छ ‘पछिल्लो समय यो महोत्सव पोखरालाई मात्र नभई सिंगो नेपाल चिनाउने माध्यम बनेको छ । किनकी महोत्सव भनेरै घुम्नका लागि विदेशी पाहुना समेत पोखरा आउने गर्छन् ।’
यसपटक पनि बिगतमा जस्तै विभिन्न परम्परा र संस्कृति झल्कने झाँकीसहित लोकदोहोरी, आधुनिक र पप गीतसहित विभिन्न कलाकार र ब्याण्डको सांगीतिक कार्यक्रम गरिनेछ । रस्साकस्सी, डुंगा दौड, वेटर दौडसहित यस पटक कुकहरुका लागि पनि विशेष कार्यक्रम गरिने भएको छ ।
महोत्सवमा मनोरञ्जनसँगै पर्यटकीय गतिविधि कसरी बढाउने भन्ने सम्बन्धमा टकशो गरिने भएको छ ।
टकशोमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, पाटा नेपालका अध्यक्ष खेम लक्काई, पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पलिखे र पर्यटन उद्यमी शिव ढकाल सहभागी भएर आगामी वर्ष पोखरा भ्रमणको लागि अवसर र चुनौती विषयमा आआफ्नो विचार दिने टकशो कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए ।
संस्थाका सल्लाहकार गणेशबहादुर भट्टराईले आगामी दिनमा महोत्सवलाई छिमेकी मुलुक भारत, चीनसहित जापान कोरिया, बंगलादेश श्रीलंका जस्ता मुल्लुकबाट पाहुना आउने अवस्था बनाउनु आवश्यक रहेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution