एनटीभीए गण्डकीको छैटौँ साधारणसभा

  • पोखरा न्यूज
  • २०८१ पौष २८
एनटीभीए गण्डकीको छैटौँ साधारणसभा

पोखरा । नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्यटनको विविधिकरण भएको बताउँदै समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको बताउँदै उनले यो पहिचान कायम हुनुपर्नेमा जोड दिए ।

एनटीभीए गण्डकी अध्यक्ष दुर्गादत्त दाहालले इम्बोष्ट नम्बरका नाममा हरियो प्लेटको पहिचान गुम्न दिन नहुने बताए ।

उनले एनटीभीए गण्डकीमा विभिन्न एक सय २१ यातायात कम्पनी आवद्ध रहेको र करिब पाँच सय ५० सवारी साधनमा चार अर्ब बराबरको लगानी रहेको जानकारी दिए ।

उनका अनुसार पर्यटन यातायातका सवारी साधन सञ्चालन भइरहँदा दुई हजार पाँच सय जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिए ।

२० वर्षका सवारी साधनलाई विस्थापन गर्ने सरकारको निर्णय व्यवहारिक नभएको भन्दै उनले यसले व्यवसायी मर्कामा परेको बताए ।

एनटीभीए केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटन यातायात सेवा सञ्चालनमा सम्भावनासँगै चुनौती पनि रहेको भन्दै राज्यको व्यवसायी मैत्री नीति आवश्यक हुने बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले हरियो प्लेटका सवारी साधनले समग्र पर्यटनको स्तर बढाएको उल्लेख गर्दै यसको गरिमा जोगाउनुपर्नेमा जोड दिए ।

एनटीभीए गण्डकीका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले पर्यटनमा दोस्रो ठूलो लगानी पर्यटन यातायातका क्षेत्रमा रहेको भन्दै सरकारले सवारी साधन खरिदमा दुई ४० प्रतिशत भन्सार शुल्कले व्यवसायीलाई मर्का परेको जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं २३ का वडाध्यक्ष रामकाजी गुरुङ एनटीभीएलाई सघाउन आफू सधैँ तयार रहेको बताए ।

एनटीभीए गण्डकी अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव विकास कंडेलले गरेका थिए भने प्रथम उपाध्यक्ष रवीप्रसाद आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस