पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालको बर्ष २०२५/२६ को गभर्नरमा पार्वती खरेल पाण्डेले उम्मेद्वारी दर्ता गराएकी छन् । उनी हाल प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरको भूमिकामा छन् ।
आगामी फागुन २४ गते पोखरामा डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन हुँदैछ । सो कन्भेन्सबाट एस भोटका आधारमा उनी गभर्नर चुनिनेछन् । पाण्डे लायन्स क्लब अफ काठमांडौँ परोपकारका संस्थापक अध्यक्षसमेत हुन् ।
यस्तै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका द्वित्तीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य केसी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका चिफ डिष्ट्रिक्ट एडभाइजर शैलेन्द्र मोहन भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् ।
केसी लायन्स क्लब अफ काठमाडौँ साकुराका संस्थापक प्रथम उपाध्यक्ष र भट्टराई लायन्स क्लब अफ लेखनाथका संस्थापक सदस्य हुन् ।
डिष्ट्रिक्ट गभर्नर उम्मेद्वार पाण्डेको परिचय लायन्स क्लब अफ काठमाडौँका परोपकारका पूर्वअध्यक्ष सुवासचन्द्र जोशी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार केसीको परिचय लायन्स क्लब अफ काठमाडाैँ साकुराका पूर्वअध्यक्ष राजकुमार थापा क्षेत्री र द्वित्तीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार शैलेन्द्र मोहन भट्टराईको परिचय लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले गराएका थिए ।
पाण्डे भाइस डिष्ट्रिक्ट गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा होस् उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएकी छन् ।
लायनवादमा विगत १३ वर्षदेखि अनवरत रूपमा सक्रिय रहँदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफ्ना जिम्मेवारी सम्हाल्दै आएकी पाण्डेलाई डिष्ट्रिक्ट ३२५ आई नेपालको भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन्स क्लब अफ काठमाडौँ परोपकारले दुई बर्षअघि प्रस्तुत गरेको थियो ।
कुनै पनि कार्य सम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढसंकल्पले डिष्ट्रिक्टलाई आशातित उचाईमा पुर्याउन सक्ने क्षमता रहेको लायन्स क्लब अफ काठमाडौँ परोपकारका अध्यक्ष नवराज पाण्डेको दावी छ ।
पाण्डेले विभिन्न सामाजिक संघ संस्थामा कुशल नेतृत्व प्रदान गरिसकेकी छन् । पाण्डेले लायन्स डिष्ट्रिक्टको महत्वपूर्ण पदमा रही सेवा, सक्रियता र योगदानका हिसाबले पनि एउटा छुट्टै पहिचान र अस्तित्व बनाएकी छन् ।
उनी लायन्सका विभिन्न तालिम तथा सेमिनारमा सहभागी भई लायनवादको मूल्य र मान्यतामा समर्पित रही एक सफल समाज सेवीका रूपमा चिनिन्छिन् । लायन्सको हरेक सदस्य माँझ भिजेर काम गरेकी उनी लायन्स सदस्यको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बताउछिन् ।
सो अवसरमा लायन्स अन्तर्राष्ट्रियका एलसीआइएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, मल्टिपल कोअर्डिनेटर एवं पूर्वमल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, डिष्ट्रिक्ट एलका निवर्तमान डिष्ट्रिक्ट गभर्नर परमेश्वर बराल, पूर्वडिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललगायतले शुभकामना व्यक्त गरेका थिए ।
नोमिनेशन कमिटी चेयरपर्सन एवं पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट कोचिफ एडभाइजर शान्ता थापा भण्डारी, लायन्स क्लब अफ काठमाडौँ परोपकारका पूर्वअध्यक्ष तुलसा गौतम, लायन्स क्लब अफ पोखरा अर्घौँका अध्यक्ष प्रकाशलाल श्रेष्ठलगायतले बोलेका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट क्लस्टर कोचिफ रामबहादुर श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । काठमाडौँ परोपकारका अध्यक्ष नवराज पाण्डेले स्वागत र लायन्स क्लब अफ लेखनाथका पूर्वअध्यक्ष हरि लामिछाने धन्यवाद ज्ञापन गरेका थिए ।