म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीयस्थलको विकासमा पार्टीको साथ रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।
सभापति देउवासमक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकता प्राप्त आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाएका थिए ।
मागपत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्री र मन्त्रीसँग छलफल गरी योजना कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मागपत्रमा बेनी-दरवाङ-मुना-ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन स्तरोन्नति गर्नुपर्ने, बेनी-दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडान गर्नुपर्ने, बेनी बजारमा कटान नियन्त्रण आयोजना, बेनी-पाखापानी-मल्कवाङ चक्रीय सडक, पोखरेबगर-घोडेपानी-कास्कीलाई सडकले जोड्न, बृहत् चिमखोला पिप्ले भगवती खानेपानी आयोजना र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणको विषय समावेश गरिएको थियो ।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राखुको गुठी जग्गासम्बन्धी समस्या समाधानका लागि सभापति देउवाको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी र पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले पार्टीको गतिविधि र जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा देउवाले बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवनको पनि निरीक्षण गरेका थिए ।
विसं २०७४ मा सुरु भएको भवन निर्माणले पूर्णता नपाउँदा बेनी अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।
सहरी विकास मन्त्रालयमार्फत सञ्चालित अस्पतालको भवन निर्माणलाई तीव्रता दिनका लागि दबाब दिन उच्च तहका राजनीतिक नेतृत्वको अनुगमन गराइएको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution