पोखरामा बिहानैदेखि वर्षा, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ चैत्र २९
पोखरामा बिहानैदेखि वर्षा, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । पोखरा लगायत आसपासका क्षेत्रमा आज शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मुख्यतः सफा वा आंशिक बदलीको अवस्था देखिएको छ ।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले आगामी दिनहरूमा देशका विभिन्न क्षेत्रहरूमा मौसममा उतारचढाव देखिने अनुमान गरिएको छ ।

शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना रहेको छ ।

वर्षासँगै देशभर जारी तुवाँलो क्रमिक रूपमा कम हुँदै जाने प्रक्षेपण गरिएको छ । यद्यपि, मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस