भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने

पोखरा । भुटान एयरलाइन्सले पोखरामा चार्टर उडान गर्ने घोषणा गरेको छ। एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष उडान सञ्चालन गर्ने तयारी गरेको हो।

हाल भुटान एयरलाइन्सले पारोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चारवटा नियमित उडान गर्दै आएको छ। अब पोखराबाटै प्रत्यक्ष उडान सुरु भएपछि दुवै देशको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन्।

उनले पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको निरन्तरताका लागि पर्यटन व्यवसायीहरूलाई सक्रिय पहल गर्न आग्रह गरेका छन्।

यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो। त्यस्तै, पोखराबाटै छेन्दुतर्फ हिमालयन एयरलाइन्सले पनि उडान भर्ने गरेको छ।

पछिल्लो चरणमा सिचुवान एयरलाइन्सले पोखरा–सिचुवान हुँदै अस्ट्रेलियासम्म उडान विस्तार गर्ने पहल गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button