पोखरा न्यूज । विश्वव्यापी महामारी कोरोना भाइरसबाट मंगलबार एकै दिन ७ हजार ३ सय ७१ जनाको मृत्यु भएको छ भने ८४ हजार ५ सय ५४ नयाँ संक्रमित फेला परेका छन् ।
मंगलबार थपिएका मृतकसँगै हालसम्म विश्वभर ८२ हजार २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै कुल संक्रमितको संख्या १४ लाख ३० हजार ५ सय ९० पुगेको छ ।
मंगलबार सबैभन्दा धेरै अमेरिकामा ३३ हजार ३ सय ३१ नयाँ बिरामी भेटिँदा १ हजार ९ सय ७० ले ज्यान गुमाए । यससँगै अमेरिकामा संक्रमितको संख्या ४ लाख नाघेको छ भने ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ४१ पुगेको छ ।
त्यस्तै पछिल्लो दिन भाइरसको हटस्पट बनेको फ्रान्समा कोरोनाबाट एकैदिन १४ सय १७ को मृत्यु भएको छ भने ११ हजार ५९ नयाँ संक्रमित भेटिएका छन् ।
मंगलबार नै बेलायतमा ७ सय ८६, स्पेनमा ७ सय ४, इटालीमा ६ सय ४, बेल्जियममा ४ सय ३ र नेदरल्यान्डमा २ सय ३४ ज्यान गुमाएका छन् । त्यस्तै जर्मनी, स्वीडेन, ब्राजिल र इरानमा पनि कोरोनाबाट १ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
दक्षिण एसियाली मुलुक अन्तर्गत भारतमा लगातार दोस्रो दिन ५ सय बढी संक्रमित फेला परेसँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ११ पुगेको छ भने मृतकको संख्या १ सय ५० पुगेको छ ।
अर्को प्रभावित मुलुक पाकिस्तानमा कुल संक्रमितको संख्या ४ हजार ३५ पुग्दा भाइरसबाट हालसम्म ५७ जनाको मृत्यु भएको छ ।