
पोखरा न्यूज । पोखरा महानगरपालिकाको वडा नम्बर २६ मा खास्टे, न्यूरेनी र गुँदे तीन वटा ताल रहेका छन् । तीन वटै तालको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक ध्यान तान्ने उद्देश्यले आयोजना गरिएको प्रथम खास्टे ताल महोत्सव २०७७ को तयारी तीव्र पारिएको आयोजकले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएका छन् । महोत्सव चैत्र १२ गते देखि २२ गतेसम्म खास्टे ताल नजिकैको खरानेफाँटमा सञ्चालन हुनेछ ।
‘लेखनाथ खास्टे ताल महोत्सव जाऔँ, प्रकृति र संस्कृतिमा रमाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा १ सय १० वटा स्टलहरू रहने कार्यक्रम संयोजक हरि प्रसाद अधिकारीले जानकारी दिनुभयो । एक करोड मूल्य बराबरको कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवको मुख्य आकर्षणको रूपमा खास्टे तालमा पाइने माछाको स्टल रहनेछ ।
खास्टे तालमा ३० लाख हाराहारीमा माछा रहेका छन् । सहकारीले बिक्री गर्ने लोकल सहर माछाको एक केजीको एक हजार रुपैयाँ, भ्याकुरको ५ सय, ग्रास, कमन, नैनी लगायतको ४ सय ५० र सानो माछाको प्रति केजी ३ सय मूल्य तोकिएको छ । यहाँ उत्पादन भएका माछाको माग बढ्दै गएको छ ।
यसका अलावा स्थानीय जेठो बुडो धानको सहित खाद्य, लत्ता कपडा, खास्टे फेन्सी , जुत्ता चप्पल लगायतको स्टल रहनेछन् । खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिको आयोजनामा सञ्चालन हुने महोत्सव सम्पन्न गर्न ९७ लाख ५० हजार खर्च लाग्ने संयोजक अधिकारीले बताउनुभयो । महोत्सवबाट ९८ लाख ५० हजार आम्दानी गरी एक लाख बचत गर्ने समितिले लक्ष्य राखेको छ । महोत्सवमा कुल ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
महोत्सव हेर्नको लागि विद्यार्थीको लागि ३० रुपैयाँ र अन्य सर्वसाधारणका लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । साँझमा हुने कन्सर्टको लागि भने एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले पोखरा २६ का तीन तालको संरक्षण सहित तालको प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । तालहरूको हाल सिमाङ्कन सहितको काम भइसकेको भन्दै उहाँले ताल दिगो रूपमा संरक्षण गर्न स्थानीय एक जुट भएको दावी गर्नुभयो ।
महोत्सवले पोखरा २६ र त्यस आसपासमा रहेको पर्यटकीय ठाउँलाई उजागर गर्दै त्यस ठाउँको आकर्षण थप्न सहयोग गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, महोत्सवका सह–प्रायोजक शिवहरि ढुङ्गाना, मिडिया संयोजक भिमपाणी बराल, प्रचार प्रसार संयोजक ईश्वर भण्डारी, समितिका सचिव ईश्वरी प्रसाद अधिकारीले महोत्सवको बारेमा बोल्नुभएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत लेखनाथ बुढीबजारबाट झण्डै डेढ किमी दुरीमा खास्टे र न्युरेनी ताल रहेको छ । खास्टे तालको पानीको श्रोत ठुलो खोला तथा नुवाराको खोला हो । खास्टे र न्युरेनी तालबाट झण्डै ५ सय मिटरको दुरीमा गुँदे ताल रहेको छ ।
खास्टे ताल महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति समेत आकर्षणको रूपमा रहनेछ । महोत्सवको सह–आयोजकमा राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला कार्यसमिति कास्की रहेको छ । महोत्सवलाई सफल पार्न अध्यक्ष अधिकारीको संयोजकत्वमा १ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति विभिन्न ३२ वटा उपसमिति सहित गठन गरेर तयारी तीव्र पारिएको छ ।
महोत्सवको चैत्र १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्ने प्रचार संयोजक ईश्वर भण्डारीले जानकारी दिनुभयो । पोखराका विभिन्न ठाउँबाट सार्वजनिक बस मार्फत दर्शक महोत्सव स्थलसम्म आइपुग्न सक्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ ।
महोत्सवको व्यवस्थापकमा सुर ताल इभेन्ट प्रा लि, पोखरा महानगरपालिका १४, कास्की तथा प्रवर्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा रहेको छ ।





