कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

पोखरा न्यूज । कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् ।

मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै आउनुभएको छ । अहिलेसम्म बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका दुईजना सङ्क्रमितसहित पोखरामा मृत्यु भएर बेनीमा ल्याइएका समेत गरी पाँच वटाको शव बेनीस्थित कालीगण्डकी र म्याग्दी नदीको दोभान रहेको दोबिल्ना घाटमा व्यवस्थापन गरिसकिएको केसीले बताउनुभयो ।

“पिपिई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको छ, हामीले पारिश्रमिक नलिईकन स्वयम्सेविका रुपमा सहयोग गरेका हौँ, जोडरले खाडल खन्नुपर्ने अवस्थामा त्यो खर्च स्थानीय तहले व्यवस्थापन गरिदिनुभएको छ”, केसीले भन्नुभयो । केसीलाई जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले शव व्यवस्थापन संयोजक तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button