उपत्यकाका प्रमुख नदीबाट ११ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ –

उपत्यकाका प्रमुख नदी सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बागमती सफाइ महाअभियानको १७७ औँ हप्तामा आज कुलेश्वर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइ तरकारी फलफूल बजारमा केन्द्रित गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बागमती समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायत अभियानकर्मीको सक्रियता थियो ।

रुद्रमती सफाइको १३६ औँ हप्तामा गतहप्ता फोहरमुक्त घोषणा गरिएको गौशालाचोकदेखि कमलपोखरीसम्म जनचेतनामूलक रयालीसहित सफाइ गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले बताउनुभयो ।

सफाइका क्रममा भण्डारखालमुनि थुपारिएको एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–९ र ३३ कार्यालय एवम् महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरीको पनि सहभागिता थियो ।

विष्णुमती सफाइको ११२ औँ हप्तामा आज डल्लुपुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । डल्लुपुल क्षेत्रमा दिउँसो सफाइ गरेपनि राति होटल सञ्चालकले फोहर फाली दुर्गन्धित बनाउने गरेकाले अर्को हप्तादेखि जनचेतनामूलक घरदैलो अभियान सुरु गरिने भएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी,को नाराका साथ पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि प्रत्येक हप्ता बागमती सफाइ हुँदै आएको छ । बागमती सफाइले राम्रो प्रभाव पारेपछि उपत्यकाका प्रमुख नदीलगायत देशका अन्य क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button