भालेश्वर महादेवः रमाइलो गन्तव्यस्थल

काठमाडौँ –

चन्द्रागिरि नगरपालिकास्थित ‘भालेश्वर महादेव’ मन्दिर अहिले धेरैका लागि रमाइलो गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ ।

प्राचीन समयदेखि नै अस्तित्वमा रहेको त्यस क्षेत्रमा अहिले चिटिक्कको महादेव मन्दिर निर्माण गरिएको छ । कुनै बेला देवता तथा राक्षस बीचमा सहकार्य भई भएको समुद्रमन्थनबाट निस्केको कालकूट विषलाई महादेवले सेवन गरी डाह भएपछि त्यसलाई शान्त गर्न उत्तरापन्थ लाग्दा त्यस क्षेत्रमा पाइला टेकी नीलाद्री पर्वत(हाल गोसाइँकुण्डस्थल) गएको पौराणिक कथन छ ।

सोही स्थानमा निर्माण गरिएको उक्त मन्दिर वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमालको डिजाइनमा पुनःजीर्णोद्धार गरिएको हो । सहिदढोकालगायत थुप्रै ऐतिहासिक, धार्मिक, साहित्यिक संस्था, होटेल, मन्त्रालय, संरचनाको सफलताका साथ संरचना तयार गर्नुभएका रिमाल वरिष्ठ कलाकार तथा नेपाल कला परिषद्का महासचिव हुनुहुन्छ ।

इन्जिनियर रिमालले मन्दिर २५ फिट लम्बाइ तथा त्यति नै चौडाइमा रहेको जानकारी दिँदै मन्दिर शास्त्रीय गायत्री मन्त्रका आधारमा तयार गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिर निर्माणका क्रममा गायत्री मन्त्रलाई त्रिपदी र चतुष्पदी विधिअनुसार प्रयोग गरिएको छ । नेपाली वास्तुकलाको अनुपम नमुनाका रुपमा सो मन्दिरले त्यहाँ आउने धेरैको मन जित्ने गरेको छ ।

साबिक थानकोट गाविसमा रहेको उक्त डाँडा अहिले चन्द्रगिरि नगरपालिकामा पर्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले त्यस क्षेत्रमा आएर काठमाडौँ उपत्यका विजय गर्नका लागि ‘भालेश्वर महादेव’सँग वर मागेको समेत स्थानीयवासी बूढापाका बताउँछन् । अग्लो डाँडामा रहेको त्यस क्षेत्रमा पुगेर चारैतर्फ हेर्दा मानिसलाई लागेको थकावट बिर्सने तथा त्यहाँको मनोरम दृश्यले आनन्द आउने गर्छ । स्थानीय सरोकार समितिका संयोजक श्याम बलामीले स्थानीय पूर्वाधार तथा विकास निर्माणको अभावमा कुनै समय महादेव आएको ऐतिहासिकस्थल ओझेलमा परेकाले त्यहाँको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस क्षेत्रबाट फर्पिङ, कुलेखानी, टिस्टुङ, पालुङ लगायत स्थान नजिकको दूरीमा पर्छ । ती स्थानका वरपर हरियाली जङ्गल तथा मनोरम दृश्यले पर्यटकीयस्थलका रुपमा प्रचुर सम्भावना बोकेको छ । राजनीर्तिकर्मी देवेन्द्र प्रधानले ‘भालेश्वर महादेव’को शक्तिले पृथ्वीनारायणले नेपाल एकीकरण गर्न सफल भएको विश्वास व्यक्त गर्दै त्यहाँको बाटालाई कालोपत्र गरी आवतजावतलाई सहज बनाउन सकेमा धार्मिक पर्यटक तथा अन्य घुम्न आउने मानिसको सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button