समस्या समाधानका लागि काँग्रेस गम्भीर छ – नेता सिंह

वालिङ –

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समस्या समाधानका लागि काँग्रेस गम्भीर रहेको बताउनुभएको छ ।

काँग्रेस स्याङ्जा क्षेत्र नं ३ को पार्टी कार्यालयको आज गल्याङमा उद्घाटन गर्दै उहाँले संविधानमा केही कमजोरी रहेकाले यसलाई सबै दलको सहमतिमा संशोधन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभयो ।

नेता सिंहले “नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएका हुनाले यसको कार्यान्वयनमा पनि काँग्रेसले जिम्मेवारी लिनुपर्छ” भन्दै “संविधानको कार्यान्वयनमा देखिएका जटिलतालाई आन्दोलन भन्दा पनि वार्ताबाट निकास दिनु अहिलेको आवश्यकता हो बताउनुभयो ।”

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहित अन्य दललाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिदै उहाँले काँग्रेसले सरकार परिवर्तनलाई भन्दा पनि जनताका चाहना र आवश्यकता बुझ्नतर्फ लाग्नुपर्ने भन्नुभयो ।

पार्टीका महाधिवेशनका समयमा जे–जस्तो भए पनि अब भने सबै नेता कार्यकर्ता एकजुट भएर पार्टी सुदृढिकरणतर्फ लाग्नुपर्ने र पार्टीभित्र नमिलेका केही विषयलाई कात्तिक ४ गते बस्ने पार्टीको केन्द्रीय बैठकमा आफूले उठाउने प्रतिवद्धता पनि नेता सिंहले व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button