मनसुन पुनः सक्रिय, गण्डकीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

 पोखरा न्यूज । लगातार वर्षासँगै  जन धनको क्षति गराएर केही दिन थामिएको झरी फेरि सुरु भएको छ । पछिल्ला दिनमा हल्कादेखि मध्यम वर्षा भए पनि आइतबार रातिबाट भारी वर्षा भइरहेको छ । काठमाडौं, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ ।

सोमबार बिहान गण्डकी, प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो ।

साेमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ । गण्डकी प्रदेशसँगै  प्रदेश १, बागमती र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले उल्लेख गरेको छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार पनि धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

बुधबार भने झरी केही थामिने देखिन्छ । बुधबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button