पोखरा-
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डाक्टर ईन्जिनियर परमेश्वर पोखरेलले पोखरामा खानेपानीको समान वितरण गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । पोखरेली उपभोक्तालाई पानीको समान वितरण नभएको भन्ने गुनासोलाई मध्येनजर गर्दै अध्यक्ष पोखरेलले पानी ट्याङ्की विन्ध्यावासिनीको समेत स्थालगत निरीक्षण गर्दै कुनै स्थानमा चौविसै घण्टा पानीको सुविधा र कुनै क्षेत्रमा हप्तादिनसम्म पानीको अभाव हुन नदिन निर्देशन दिएका हुन् ।
विकास निर्माणका क्रममा विस्तार भएका पाईपलाईनमा समेत पानीको उचित व्यवस्था गर्न पोखरा शाखा कार्यालयलाई अनुरोध समेत गरेका थिए । निर्देशन पछि कार्यालय प्रमुख निरण महर्जनले आफू उपभोक्ताका हितमा सधै लागिपरेको भन्दै भूवनोटका आधारमा वाहेक अन्य क्षेत्रमा समान वितरण गरिएको जानकारी दिए । महर्जनले मेन पाईपलाईनबाट वितरण गरिएको धारा वाहेक अन्य क्षेत्रमा समस्या नरहेको औंल्याए । महर्जनले सिमित जनशक्ति, स्रोत, साधन र वजेटको अभावमा सोचेजस्तो सेवा गर्न नसकिएको जानकारी दिए । खानेपानी संस्थान पोखरा शाखामा १ सय ५९ जनाको दरवन्दी रहेपनि हाल ८४ जना कर्मचारीमात्र रहेको प्रशासन प्रमुख शिवराज भण्डारीले जानकारी दिए । संस्थानले पोखरामा करिव ३७ हजार धारामा सेवा दिईरहेको विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख दिनेश्वरप्रसाद यादवले जानकारी दिएका छन् । यादवले पिच वाटोमा पाइप फुट्ने समस्याले पानी वितरणमा केही समस्या पैदा भएको जनाए ।





